Headlines

थाइल्याण्ड ओपन करातेमा एरिका गुरुङको स्वर्ण जित, नेपाली छोरीको चम्किलो प्रदर्शन

थाइल्याण्ड ओपन करातेमा एरिका गुरुङको स्वर्ण जित नेपाली छोरीको चम्किलो प्रदर्शन

असार १५, २०८२ । उपसना पौडेल

थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न थाइल्याण्ड ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् ।

यसपटकको प्रतियोगितामा सिनियर महिला कुमिते +६८ केजी तौल समूहमा नेपालकी एरिका गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छन् । यो सफलता केवल व्यक्तिगत मात्र नभई राष्ट्रिय स्तरमै करातेको खेलक्षेत्रमा नेपाली गौरवको पुनः पुष्टि गरेको छ ।

नेपाल कराते महासंघले थाइल्याण्ड ओपनलाई सन् २०२५ को अन्तर्राष्ट्रिय क्यालेन्डरमा महत्वपूर्ण अवसरका रूपमा लिएको थियो । यही तयारीअनुसार सहभागिता जनाएका खेलाडीहरूले अपेक्षाभन्दा बढी नै नतिजा ल्याउँदै नेपालको नाम उच्च बनाएका छ ।

गत वर्ष एसियन सिनियर कराते प्रतियोगितामा रजत जितेकी एरिका यसपटकको स्वर्णसँगै नेपाली खेल इतिहासमा आफ्नो नाम अझ बलियो बनाएर लेख्न सफल भएकी छन् ।

थाइल्याण्ड ओपनमा उनले फाइनलमा स्थानीय खेलाडी चनकन खियोखामलाई पराजित गरेकी हुन् । प्रतिस्पर्धा निकै कडा रहे पनि एरिका सुरुदेखि नै आत्मविश्वासले भरिएकी थिइन् ।

केही हप्ताअघि मात्र कराते १ प्रिमियर लिगमा कास्य जितेकी उनले अहिले स्वर्ण जितेर यो वर्षलाई आफ्नो करियरको ‘ब्रेकथ्रु सिजन’ बनाएकी छन् ।

उनको सफलताको पछाडि प्रशिक्षण, लगनशीलता, र पारिवारिक समर्थनको ठुलो भूमिका रहेको बताइन्छ ।

एरिका मात्र होइन, अन्य नेपाली खेलाडीहरूले पनि विभिन्न तौल र उमेर समूहमा उल्लेखनीय सफलता हासिल गरेका छन् । तीमध्ये केही महत्वपूर्ण उपलब्धि निम्नानुसार छन्:

महिमा राई — सिनियर महिला कुमितेमा कास्य पदक विजेता
सम्पन्न बस्नेत — यू१२ पुरुष कुमिते ३७ केजीमा रजत पदक विजेता
राजिव पुडासैनी — सिनियर पुरुष कुमिते ७५ केजीमा तेस्रो स्थान
कृतिका अधिकारी — सिनियर महिला कुमिते ६८ केजीमा तेस्रो
सबिना श्रेष्ठ — ५५ केजीमा तेस्रो स्थान
वर्षा बुढामगर — ५० केजीमा तेस्रो स्थान
दिया तामाङ — यू१४ महिला ५२ केजीमा तेस्रो स्थान
आशिष हरिजन — पुरुष कुमिते ४५ केजीमा तेस्रो स्थान
प्रजल थापा — यू१४ पुरुष कुमिते ५० केजीमा तेस्रो स्थान
हासिल गरेका छन् ।

नेपाल कराते संघका अनुसार, पछिल्लो केही वर्षदेखि कराते खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार उपस्थिति बढाउँदै आएको छ ।

सन् २०२० यता, नेपाली कराते टोलीले एसियन, दक्षिण एसियाली, र विश्व कराते प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
थाइल्याण्ड ओपनमा नेपाली टोलीको प्रदर्शनले नेपालमा करातेप्रतिको लगाव र लगानी सफल बन्दै गएको पुष्टि गरेको छ ।
कराते टोलीका मुख्य प्रशिक्षकले बताए अनुसार, “एरिकादेखि लिएर सम्पूर्ण टोलीले गरेको मेहनत आज फलदायी भएको छ। हाम्रो तयारी यसअघि देखिएका कमजोरीलाई सच्याएर अगाडि बढ्नेमा केन्द्रित थियो ।

उनले थपे हामीले जापानी प्रविधि अनुसारको अभ्यास प्रणाली अपनाएका थियौं जसको प्रतिफल आज देखिएको छ ।

यस्तो ऎतिहासिक सफलतालाई स्थायी र दीगो बनाउन राज्य, खेलकुद मन्त्रालय, र निजी क्षेत्रको सहयोग अत्यावश्यक छ । आजको दिनमा नेपाली खेलाडीहरूले जे उपलब्धि गरेका छन् त्यो व्यक्तिगत मेहनत र सीमित स्रोतको भरमा सम्भव भएको हो ।

यदि खेलकुद संरचनामा व्यापक सुधार गरिएमा र वित्तीय तथा प्रविधिगत सहयोग प्रदान गरिएमा नेपालले आगामी ओलम्पिकजस्ता ठूला प्रतियोगितामा पनि इतिहास रच्न सफल हुनेछ ।

थाइल्याण्ड ओपनपछि नेपाली टोलीले आगामी केही महिनामा जापान र मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने तयारी गरिरहेको छ ।

खेलाडीहरू भन्छन् थाइल्याण्डमा देखाइएको प्रदर्शनलाई निरन्तरता दिँदै अब हामी अझै विशेष तयारीमा जुट्नेछौं । हामीलाई अब ओलम्पिक र वर्ल्ड कराते च्याम्पियनसिपतर्फ अघि बढ्नु छ ।

एरिका गुरुङ लगायत सम्पूर्ण पदक विजेता खेलाडीहरू स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । सामाजिक सञ्जालमा उनीहरूको प्रशंसा गर्दै हजारौं नेपालीले गर्वको अनुभूति व्यक्त गरेका छन् ।

थाइल्याण्ड ओपन कराते प्रतियोगितामा नेपालले देखाएको प्रदर्शन साँचिकै ऐतिहासिक छ । यो नतिजाले देखाएको छ, जब इच्छा हुन्छ, तयारी हुन्छ, तब संसाधनको कमीको बाबजुद पनि सफलता सम्भव छ ।

एरिका गुरुङ र उनका सहकर्मीहरूले नेपाललाई नयाँ उचाइमा पुर्‍याउने एउटा मार्गचित्र तयार गरेका छन् ।

 

तपाईंको चासो, गुनासो र प्रतिक्रिया हामीलाई साझा गर्नुहोस् ।

 

काठमाडौं दैनिक । kathmandudainik.news@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *