कार्तिक २५, २०८२। राज नेपाली

काठमाडौं – पर्वतको मोदी गाउँपालिका–६ दराकमा सोमबार राति एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीका अनुसार ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीता विकमाथि कुटपिट गरी ज्यान मारेका हुन्।
स्थानीयका अनुसार जीतबहादुर सोही दिन दिउँसो मात्रै वैवाहिक जबर्जस्ती करणी मुद्दामा जेलबाट धरौटीमा छुटेका थिए। आश्चर्यजनक रूपमा उनलाई धरौटी तिरेर घर ल्याउने व्यक्ति श्रीमती सीता नै थिइन्। तर घर आइपुगेको केही घण्टामै श्रीमानले खाना खाइसकेपछि श्रीमतीमाथि कुटपिट गर्न थालेका थिए।
गम्भीर चोट लागेर बेहोस भएकी सीतालाई उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याइएको थियो। चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
देउपुर प्रहरी चौकीका निरीक्षक सुदीप भण्डारीका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको थियो। स्थानीयले नै जीतबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
उनका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारीसहित चार जना सदस्य बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










