कार्तिक २४, २०८२। उपसना पौडेल

काठमाडौं – जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक क्षेत्र फेरि सक्रिय बन्दै गएको छ। निर्वाचन आयोगले सोमबारसम्म चार नयाँ दललाई आधिकारिक मान्यता दिएको छ भने थप २८ दल दर्ता प्रक्रियामा रहेका छन्।
गतिशील लोकतान्त्रिक पार्टीले सोमबार निर्वाचन आयोगबाट आधिकारिकता पाउँदै हालसम्म जेनजी आन्दोलनपछि दर्ता भएका दलको संख्या चार पुगेको छ। दिनेश प्रसाईं अध्यक्ष र पियुषप्रसाद कायस्थ महासचिव रहेको सो पार्टीले गत ३० असोजमा दर्ता आवेदन दिएको थियो। यस पार्टीको चुनाव चिन्ह “दीपज्योति” हो।
यसअघि धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, र जनस्वराज पार्टी दर्ता भइसकेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १९ दल जेनजी आन्दोलनपछि दर्ता प्रक्रियामा छन् भने आन्दोलनअघि दर्ताका लागि आवेदन दिएका ९ दल अझै आधिकारिकता पाउन बाँकी छन्।
उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिबरल पार्टी, राष्ट्रिय जेनजी पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, र नागरिक सर्वोच्चता पार्टी नेपाल लगायतका दल दर्ता प्रक्रियामा छन्। विभिन्न दलहरूले आफ्ना चुनाव चिन्हका रूपमा दीपज्योति, बाँसुरी, बलेको चिम, चापाकल, धानको बाला, मुठ्ठी, डोजर लगायत प्रस्ताव गरेका छन्।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार दल दर्ता गर्न चाहनेहरूले कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिनुपर्ने र मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन हुने बताइएको छ।
आयोगले कानुनअनुसार दर्ता निवेदन प्राप्त भएको ४५ दिनभित्र निर्णय दिनुपर्ने प्रावधान रहेको र आवश्यक कागजात पूरा भएमा छिट्टै पनि प्रमाणपत्र दिने जनाएको छ।
आगामी निर्वाचन तयारीका लागि आयोगले माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना, फागुनमा प्रचारप्रसार र मतदान कार्यक्रम तय गरेको छ।











