काठमाडौँ, साउन ९ – कुनै समय विश्वमै तुलनात्मक रूपमा बलियो मानिएको नेपाली पासपोर्ट अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको छ। हेनली पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल ९५औँ स्थानमा झरेको छ, जसले गर्दा नेपाली राहदानी विश्वकै कमजोर १० राहदानीमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। हाल नेपाली नागरिकले जम्मा ३८ देशमा मात्र बिना भिसा यात्रा गर्न पाउँछन्।
सन् २००६ मा नेपाल ७६औँ स्थानमा रहेको थियो, जुन बेला छिमेकी चीनभन्दा पनि अगाडि थियो। तर पछिल्ला वर्षहरूमा नेपालको कूटनीतिक सक्रियता सुस्त रहँदा राहदानीको विश्वसनीयतामा लगातार गिरावट आएको हो। चीन भने हाल ६०औँ स्थानमा उक्लिएको छ र त्यहाँका नागरिकले ८३ देशमा बिना भिसा यात्रा गर्न पाउँछन्।
विश्लेषकहरूका अनुसार नेपालको राहदानीको यो अवस्थाका पछाडि राजनीतिक अस्थिरता, सरकारको बारम्बार परिवर्तन, प्रभावकारी कूटनीतिक सम्बन्ध अभाव र प्रशासनिक जटिलता जस्ता कारण छन्। खासगरी गणतन्त्र स्थापनापछि नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न नसकेको देखिन्छ।
यता भारतको पासपोर्ट ७७औँ स्थानमा छ, जसबाट ५९ देशमा भिसाबिनै यात्रा गर्न सकिन्छ। त्यस्तै, विश्वकै सबैभन्दा बलियो राहदानी सिंगापुरको हो, जसले १९३ गन्तव्यमा भिसाविनै पहुँच दिन्छ।
हेनली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (IATA) को डाटामा आधारित रहेर १९९ देशका राहदानीको क्रम निर्धारण गर्छ।
विशेषज्ञहरू भन्छन्,अब नेपालले वैदेशिक सम्बन्धमा प्राथमिकता दिएर कूटनीतिक सम्झौता बढाउनु आवश्यक छ। राहदानीको शक्ति नागरिकको अन्तर्राष्ट्रिय हक र अवसरसँग पनि जोडिएको हुन्छ।