साउन १६, २०८२।
काठमाडौँ- अपराधीक पृष्ठभूमिका व्यक्ति चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनामाथि प्रहरीले सार्वजनिक हितविरुद्धको कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।
महाराजगञ्जको साम्बाला होटल क्षेत्रबाट बिहीबार राति पक्राउ परेका चक्रे मिलनको समूहलाई प्रहरीले ‘शान्ति सुरक्षामा असर पुर्याउने’ कार्य गरेको भन्दै सार्वजनिक हितविरुद्ध अनुसन्धान थालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार त्यही रात काठमाडौँका विभिन्न क्षेत्रबाट प्रहरीले १०४ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४७ जना चक्रे मिलन समूहका थिए।
एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकामध्ये चक्रे मिलनसहित १९ जनामाथि अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप लिइएको छ।
किन पक्राउ परे चक्रे मिलन र उनका सहयोगीहरू ?
पक्राउ परेकाहरूले सार्वजनिक स्थानमा केक काट्ने, सडक अवरुद्ध पार्ने, स्कर्टिङ गर्दै गाडी प्रदर्शन गर्नेजस्ता गतिविधि गरेका थिए।
चक्रे मिलनले जन्मदिनको अवसरमा पशुपति क्षेत्रमै पैसा बाँडेका थिए।
महाराजगञ्ज क्षेत्रमा ठूलो संख्यामा साथीहरू बोलाएर होहल्ला गर्दै केक काटेका थिए।
स्कर्टिङमा सहभागी गाडीहरूले भक्तपुर क्षेत्रको सडक नै जाम बनाएका थिए।
यी घटनाहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल एक्सन लिएको हो।
उनीहरूमाथि सार्वजनिक हितविरुद्धको कसुरअनुसार अनुसन्धान चलिरहेको छ।
एसएसपी अधिकारी भन्छन्, “सामाजिक भय सिर्जना हुने गरी सार्वजनिक ठाउँमा भिड जम्मा गरेर होहल्ला गर्नु, केक काट्नु वा सडक अवरुद्ध पार्नु गैरकानुनी हो। यस्तो कार्यले नागरिकको सुरक्षामा असर पर्छ, त्यसैले हामीले म्याद थप गरेर अनुसन्धान गर्दैछौँ।
चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो ‘ग्याङस्टर’ पात्र हुन्। उनीमाथि अघिल्लो दशकमा आपराधिक गतिविधि, अवैध अस्लाह, फिरौती, ठगी लगायतका अनेक आरोपहरू लागेको थियो। पछिल्ला वर्षहरूमा उनी कम सक्रिय देखिए पनि
सामाजिक सञ्जालमा कहिले काँही देखिने गरेका थिए।
प्रहरीका अनुसार यिनै कार्यहरूलाई आधार मानेर अनुसन्धान अघि बढाइएको हो।