साउन २६, २०८२।
काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकका रूपमा लोक बहादुर बुढालाई नियुक्त गरेको छ।
खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो अनुभव भएका बुढाले यसअघि त्रिभुवन आर्मी क्लबमा खेलाडी र प्रशिक्षकको रूपमा योगदान पुर्याइसकेका छन्। उनी नेपाली राष्ट्रिय टिमको कोचिङ स्टाफमा समेत संलग्न भइसकेका छन्। तर उनलेे फ्रेन्चाइज लिगमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका भने यो पहिलोपटक हो ।
गत संस्करणमा काठमाडौं स्पाइकर्सको नेतृत्व नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले गरेका थिए। यस सिजन भने टिमले नयाँ रणनीति र ऊर्जा ल्याउने उद्देश्यसहित बुढालाई जिम्मेवारी सुम्पिएको हो।
नियुक्तिपछि बुढाले भने फ्रेन्चाइज भलिबल लिगको प्रशिक्षक बन्न पाउँदा खुशी छु। राष्ट्रिय टिम र विभागीय टिममा प्रशिक्षकको रूपमा काम गरेको अनुभवलाई प्रयोग गरेर टिमलाई उत्कृष्ट प्रदर्शन गराउने लक्ष्य राखेको छु।
काठमाडौं स्पाइकर्समा नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयरको रूपमा छन्। त्यस्तै मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, र भुवनेश्वरी चन्द टोलीमा रहेका छन्। प्रारम्भिक अक्सनमा अनुबन्धित कबिता भट्ट अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको हो।
हाल टिमले विदेशी खेलाडी अनुबन्धको अन्तिम चरण पुरा गर्दैछ र यसपछि प्रशिक्षण तालिमलाई तीव्र बनाउने तयारीमा छ। व्यवस्थापनले बुढाको नेतृत्वमा टोलीले यस सिजन उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ।