Headlines

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, बोर्डको बैठक बस्दै

एसईई नतिजा आज सार्वजनिक हुने सम्भावना, बोर्ड बैठकले दिन्छ अन्तिम निर्णय

 काठमाडौं दैनिक, असार १३, २०८२

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने अन्तिम तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को सबै तथ्यांक, प्रविष्टि, र भेरिफिकेसनको प्रक्रिया अन्तिम चरणमा पुर्याएसँगै आज (असार १३) साढे १२ बजे बोर्ड बैठक बस्दैछ। बैठकबाट नतिजा प्रकाशित गर्ने निर्णय लिइने सम्भावना रहेको छ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार यदि बोर्ड बैठकले अनुमति दियो भने र कुनै प्राविधिक समस्या देखिएन भने आजै एसईईको नतिजा सार्वजनिक गर्न सकिनेछ।

सामान्यतया चैतमा परीक्षा सम्पन्न भएपछि वैशाखको अन्त्य वा जेठको सुरुवातमा नतिजा सार्वजनिक गरिने प्रचलन भए पनि यस वर्ष शिक्षक आन्दोलनका कारण कार्यतालिका प्रभावित भएको थियो। शिक्षा मन्त्रालयको कार्यतालिका अनुसार असार ६ गतेसम्म नतिजा सार्वजनिक गर्ने भनिएको थियो।

तर चैत २० गतेदेखि वैशाख १७ गतेसम्म काठमाडौंमा शिक्षकहरूले शिक्षा ऐन संशोधनको मागसहित गरिएको आन्दोलनका परीक्षणको कार्यमा बाधा पुग्यो। परीक्षकहरू नपाएपछि समयमै मूल्यांकन कार्य पूरा हुन सकेन। यही कारण नतिजा केही हप्ता ढिलाइ भएको बोर्डको भनाइ रहेको छ ।

२०७९ सालमा एसईईमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। देशभरका विद्यालयहरूबाट विद्यार्थीहरू परीक्षा केन्द्रमा उपस्थित भएका थिए। परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म संचालन भएको थियो।

बोर्ड स्रोतका अनुसार, मुलुकभरबाट परीक्षणको काम सम्पन्न भइसकेको छ र तथ्यांक प्रविष्टि (data entry) तथा भेरिफिकेसन गर्ने अन्तिम चरणमा रहेको बताइएको छ ।

नतिजा प्रकाशनको प्रक्रिया अत्यन्तै संवेदनशील हुने भएकाले परीक्षा नियन्त्रण कार्यालयले विशेष सतर्कता अपनाएको छ। बोर्ड सदस्यहरूले भने अनुसार नतिजा प्रकाशित गर्नुअघि दुई चरणको बैठक बस्ने प्रक्रिया रहेको छ।

पहिलो बैठकमा परीक्षासम्बन्धी सम्पूर्ण तयारीबारे ब्रिफिङ गरिन्छ।
यदि बोर्ड सदस्यहरू सन्तुष्ट भए भने दोस्रो बैठक आह्वान गरिन्छ र त्यसपछि नतिजा सार्वजनिक गर्न आदेश दिइन्छ।
बोर्ड अध्यक्षको अनुमतिसहित नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा मोबाइल एपमार्फत सार्वजनिक गरिन्छ।

एसईई नतिजाको प्रतिक्षामा रहेका लाखौं विद्यार्थी र अभिभावकमा चासो र उत्सुकता उच्च छ। धेरै विद्यार्थीहरू कक्षा ११ को तयारीमा लागिसकेका छन् भने अभिभावकहरू उपयुक्त विद्यालय र विषय छनोटको रणनीति बनाउन व्यस्त छन्।

विद्यार्थीहरूका लागि एसईई नतिजा भविष्यको शैक्षिक यात्रा निर्धारण गर्ने मोडको रूपमा लिइन्छ। यसैले पनि नतिजा ढिलो हुँदा विद्यार्थीहरुमा मानसिक दबाव सिर्जना भएको देखिन्छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मूल्यांकन प्रक्रियामा सुधार ल्याउने निर्णयअनुसार उत्तरपुस्तिकाको परीक्षणमा २ चरणमा परीक्षण विधि लागू गरिएको थियो।

यस वर्ष डिजिटल प्रविधिको प्रयोगमार्फत डेटा इन्ट्री र तथ्यांक भेरिफिकेसन गरिनुका साथै मूल्यांकन केन्द्रमा परीक्षकहरूको पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न अनलाइन अनुगमन प्रणालीको पनि प्रयोग गरिएको थियो।

नयाँ शिक्षा ऐनको प्रस्तावसँगै एसईई परीक्षा सम्बन्धी भूमिका परिवर्तन हुने संकेत देखिएको छ। मन्त्रालयको प्रारम्भिक प्रस्ताव अनुसार कक्षा १० को अन्त्यमा हुने एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन गरिने प्रस्ताव गरिएको छ।

यससँगै परीक्षा सञ्चालनको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारको शिक्षा इकाइले लिनेछ।
यो परिवर्तनले एसईईको संरचना, मूल्यांकन प्रणाली र अधिकारिक संरचनामा असर पार्ने अनुमान पनि गरिएको छ।

हालको एसईई प्रणालीप्रति धेरै शिक्षाविद्हरू र अभिभावक हरूको आलोचना पनि छ। उनीहरूको तर्क छ कि १० कक्षामा हुने बोर्ड परीक्षा आवश्यक छैन र यसले विद्यार्थीमा अनावश्यक तनाव सिर्जना गर्छ।

एसईई नतिजा अब अन्तिम चरणमा छ। राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकपछि नतिजा सार्वजनिक हुने पक्का छ। केही प्राविधिक समस्या नआएमा आजै लाखौं विद्यार्थीले आफ्नो परीक्षाको परिणाम थाहा पाउनेछन्।

यस नतिजाले विद्यार्थीहरूको शैक्षिक मार्गनिर्धारण मात्र होइन शिक्षानीतिको सफलताको एक सन्देश पनि दिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *