Headlines

एमाले बाट स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त

स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त बधाईसँगै आलोचना


स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त बधाईसँगै आलोचना

काठमाडौं, असार ३२ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अब एमाले नेतृ भगवती न्यौपानेको काँधमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार गरिएको नियुक्तिसँगै अब न्यौपानेले राजकुमार गुप्ताले सम्हाल्दै आएको मन्त्रालयको बागडोर सम्हाल्नेछिन्। मन्त्री गुप्तालाई अडियो घुसकाण्ड सार्वजनिक भएपछि पदबाट हटाइएको हो।

मन्त्री नियुक्तिपछि न्यौपानेलाई एमाले समर्थक तथा कार्यकर्ताबाट सामाजिक सञ्जालमा बधाईको वर्षा भइरहेको छ। तर सँगै आलोचनाको वर्षा पनि सुरु भएको छ।
विशेषत उनी स्थानीय तहको चुनावमा हारेकी नेतृ भएको कारण उनको आलोचना भएको हो ।

२०७४ सालको पहिलो स्थानीय तह चुनावमा भगवती न्यौपाने तनहुँको भानु नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन्। तर, उनी नेपाली कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग पराजित भइन्। गौलीले ९,६३८ मत प्राप्त गर्दा न्यौपाने ९,०६६ मतमै सीमित भइन्।

स्थानीय चुनावमा पराजयपछि पार्टीले २०७६ माघ ९ गते उनलाई राष्ट्रियसभा सदस्य बनायो। गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभामा प्रवेश गरेकी उनी एमालेको मुख्य सचेतकको जिम्मेवारीमा समेत पुगिन्।

२०८० फागुन २० देखि मुख्य सचेतक रहेकी न्यौपाने अनेरास्ववियु र अनेमसंघमार्फत राजनीतिमा सक्रिय रहँदै एमालेको तनहुँ जिल्ला सचिव, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा सदस्य हुँदै मन्त्री बन्न सफल भएकी हुन्।

न्यौपानेको नियुक्तिलाई लिएर मुख्यतः दुई प्रकारका आलोचना देखिन्छन्। पहिलो, उनी चुनावमा जनताबाट अस्वीकृत भएकी व्यक्ति हुन् भन्ने तर्क। राष्ट्रियसभा प्रत्यक्ष जननिर्वाचन नभएर स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखको मतबाट चुनिने संरचना भएकाले राष्ट्रियसभालाई पराजित नेताको व्यवस्थापन स्थल भन्ने आलोचना फेरि चर्चामा आएको छ।

दोस्रो राजकुमार गुप्ताको भ्रष्टाचार प्रकरणपछि आएको यो निर्णय राजनीतिक सन्तुलन मिलाउने प्रयासमात्र भएको भन्दै शुद्ध प्रशासनिक सुधारको सन्देह मात्रै भएको छ।

संविधानसम्मत प्रक्रियाबाट मन्त्री बनेकी भए पनि भगवती न्यौपानेमाथि उठेको आलोचना नेकपा (एमाले) भित्रको आन्तरिक समिकरण, विगतको चुनावी हार र हालको नियुक्ति प्रक्रियासँग जोडिएको छ। सत्ता संरचनामा महिलाको प्रतिनिधित्व बढ्नु सकारात्मक भए पनि प्रक्रिया र पात्र चयनमा पारदर्शिता र विश्वसनीयता अपेक्षित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *