काठमाडौं,असार २७ – नेपाल प्रिमियर लिग “एनपिएल” को दोस्रो संस्करण स्थगित गर्ने विषयमा आफूमाथि उठेको आरोपप्रति युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कडा आपत्ति जनाएका छन्। उनले एनपिएल रोक्नका लागि आफ्नो संलग्नता रहेको भन्ने प्रचार असत्य र भ्रामक भएको स्पष्ट पारेका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री चौधरीले भने नेपाल सरकारले एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) बाटै नियमन अनुसार सञ्चालन हुने अपेक्षा राखेको छ।यस विषयमा मलाई संलग्न देखाउने प्रयास अनुचित छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएललाई ‘राष्ट्रिय गौरवको आयोजना’ भनेर निरन्तरता दिनुपर्नेमा जोड दिइसकेका छन्। एनपिएल रोक्नुपर्ने वा छानबिन गर्नुपर्ने भन्ने सन्दर्भमा प्रधानमन्त्रीले छानबिन र लिग दुवै सँगसँगै चल्नुपर्ने धारणा राखेपछि मन्त्री चौधरीको विज्ञप्ति आएको हो।
अख्तियार छानबिनबारे खुलासा:
मन्त्री चौधरीले विज्ञप्तिमा क्यानको आन्तरिक आर्थिक कारोबारका विषयमा अख्तियारमा परेको उजुरीअनुसार छानबिन भइरहेको उल्लेख गरेका छन्। उक्त छानबिन कार्यदलले २०८२ असार २५ गते प्रतिवेदन बुझाइसकेको पनि स्पष्ट गरिएको छ।
छानबिन कार्यदलबाट प्राप्त प्रतिवेदन मन्त्रालयले अध्ययन गरिरहेको छ र आवश्यक निर्णयका लागि प्रक्रिया अघि बढाइनेछ विज्ञप्तिमा भनिएको छ।
उनले छानबिन प्रतिवेदनमा पनि एनपिएलको आगामी संस्करण नियमित रूपमा सञ्चालन हुनुपर्ने उल्लेख गरिएको बताए। त्यसैले कार्यक्रमलाई अवरोध गर्न आफूमाथि लागेको आरोप आधारहीन रहेको मन्त्रीको दाबी छ।
मन्त्री चौधरीले भने खेल संघ,महासंघको आर्थिक र प्रशासनिक गतिविधि पारदर्शी हुनुपर्छ भन्नेमा म सधैं उभिँदै आएको छु। गलत र अतिरञ्जित प्रचार बन्द गरी सहकार्यको बाटोमा सबै पक्ष अग्रसर हुन आवश्यक छ।
क्यानले एनपिएलको दोस्रो संस्करणको तयारी थालिसकेको छ भने ८ वटा फ्रेन्चाइज टोलीहरूले आफ्नो खेलाडी रिटेन र रिलिजको काम पनि गरिसकेका छन्। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।
एनपिएल नेपाली क्रिकेटको सबैभन्दा ठूलो लिग मानिन्छ जसले खेलाडी विकासमा ठूलो भूमिका खेलेको छ। पहिलो संस्करणको सफलता र दोस्रो संस्करणप्रतिको उत्साहले गर्दा यसको स्थगन चर्चा खेल प्रेमीहरुबीच निराशा र विवादको विषय बनेको छ।