साउन २५, २०८२।
काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को विशाल अन्तरले पराजित भएको छ। बलियो साविक विजेता उत्तर कोरियाले पहिलो हाफमै ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पारेको हो।
यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल जितेर ९ अंक जोड्दै र अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपको फाइनल चरणमा स्थान सुरक्षित गरेको छ ।
नेपालका लागि यो पहिलो हार भए पनि यससँगै फाइनल चरणमा पुग्ने आशा समाप्त भएको छ। तीन खेलबाट ४ अंक मात्र जोडेको नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको र दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो।

नियमअनुसार ८ समूह विजेता सिधै फाइनलमा पुग्नेछन् भने उत्कृष्ट तीन उपविजेताले मात्र अवसर पाउनेछन्। अन्य पाँच समूहका उपविजेता टिमहरू पहिल्यै ६ अंकसहित अघि रहँदा नेपालको उत्कृष्ट दोस्रो बन्ने सम्भावना पनि समाप्त भयो।
नेपालले भुटान र साउदीलाई हराएर वा उत्तर कोरियासँग बराबरी गर्दै फाइनलमा पुग्ने लक्ष्य राखेपनि, बलियो प्रतिद्वन्द्वीको आक्रामक खेलअगाडि नेपाली टिम असफल रह्यो।