काठमाडौं, असार ३२- नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हालै खाडी मुलुकहरुको १४ दिने भ्रमण सम्पन्न गरी ‘उज्यालो नेपाल अभियान’ सुरु गरेका छन्। बहराइनदेखि यूएई, ओमान हुँदै कतारसम्मको आफ्नो यात्राका क्रममा उनले आप्रवासी नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। यस क्रममा कुलमानले “राजनीतिक होइन, समृद्धि र सुशासनमुखी अभियान सुरु गरेको” दाबी गरेका छन्।
उज्यालो नेपाल’ अभियान समृद्धिको नक्सा कोर्दै कुलमान
असार १८ गते बहराइन पुगेका घिसिङले खाडीका चार प्रमुख मुलुकहरुमा बसेर श्रमिक, व्यवसायी, बौद्धिक समुदायसँग अनौपचारिक संवाद गरे। उनी भन्छन्,मैले सुनेको भन्दा फरक अनुभूति पाएँ। श्रमिक मात्र होइन, इन्जिनियर, डाक्टर, पाइलट, प्राध्यापकजस्ता पेशामा संलग्न नेपालीहरूको राम्रो उपस्थिति देखेँ।
उनले भेटेका धेरै नेपालीले एउटै प्रश्न सोधेको सुनाए,के तपाईं राजनीतिमा आउनुहुन्छ? यस्तै धेरैले आफ्नो भविष्यप्रति अनिश्चितता व्यक्त गरे। नेपाल फर्केर के गर्ने भन्नेमा उहाँहरूमा ठूलो निराशा थियो कुलमानले भने।
बहराइनबाट सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’बारे बोल्दै कुलमानले भने यो केवल बत्तीको उज्यालो होइन, समृद्धि, रोजगारी, सुशासन र अँध्यारो हटाउने अभियान हो।
उक्त अभियान राजनीतिक दल खोल्ने प्रक्रिया हो कि सामाजिक आन्दोलन भन्ने अन्योलबारे कुलमान स्पष्ट देखिन्थे। यो समृद्धिको खाका कोर्ने अभियान हो, नेतृत्व जन्माउन सक्छ तर अहिले नै पार्टी खोल्ने तयारी छैन।
कुलमान घिसिङले नेपालका लागि प्राथमिक क्षेत्रका रुपमा ऊर्जा, पर्यटन, कृषि र जनशक्तिको सदुपयोगलाई प्रस्तुत गरेका छन्। उनले भने हामीले ऊर्जा क्षेत्रबाट समृद्धिको बाटो लिनुपर्छ। खाडी राष्ट्रले यही बाटो समाते। पर्यटनमा दुबईको जस्तो मोडल लागू गर्न सकिन्छ, रेमिट्यान्सलाई हाइड्रोपावरमा लगानी गर्न सकिन्छ।
उनी थप्छन्, “नेपालको भविष्य ‘ग्रीन इकोनोमी’ मा आधारित हुनुपर्छ। हाम्रो ठूलो सम्पत्ति भनेको जनशक्ति हो। ज्ञान र श्रमको सही उपयोग गर्न सकिए समृद्धि टाढा छैन।
“राइट ठाउँमा राइट पर्सन राखे नेतृत्वप्रति विश्वास बढ्छ,” कुलमानको भनाइ छ। उनी भन्छन् राजनीतिमा काम भएको हो, तर विकासको नेतृत्व कमजोर रह्यो। जनतामा अहिलेको नेतृत्वप्रति विश्वास छैन ।
कात्तिकमा हुने भनिएको उपनिर्वाचनमा सहभागी हुनेबारे धेरैले जिज्ञासा राखे। तर कुलमानले आफू सांसद वा मन्त्री बन्न खोजेको बताएका छैनन्। उनी भन्छन् म सांसद भएर ठूलो परिवर्तन गर्न सक्छु भन्ने लाग्दैन। त्यसको सट्टा सबैलाई प्रेरित गर्न र दबाब सिर्जना गर्ने अभियान हो।
कुलमानले अभियानको लागि डिजिटल प्लेटफर्म निर्माण भइरहेको बताएका छन्। परिकल्पनापत्र बनेको छ। वेबसाइट निर्माण हुँदैछ। सबैलाई जोड्न हामी तयार छौं उनले भने।
उनी भन्छन् यो अभियान नेतृत्व सिर्जना गर्ने थलो हो, यो बाटो पार्टी खोल्नेतर्फ जान्छ वा सामाजिक आन्दोलनकै रुपमा रहन्छ भन्ने भविष्यमा जनताको सहभागिताबाट तय हुनेछ।