Headlines

साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै नेपाल प्रि – क्वाटरफाइनलमा प्रवेश

साउदी अरेबियालाई ३-१ पराजित गर्दै नेपाल प्रि -क्वाटरफाइनलमा प्रवेश, अर्को खेल मलेसियासंग खेल्ने

काठमाडौं दैनिक, असार १३, २०८२

उज्वेकिस्तानको राजधानी तास्कन्दमा जारी २९औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाली टोलीले प्रभावशाली प्रदर्शन गर्दै यु–१९ ब्वाइज टिम इभेन्टको प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ। यो नेपाली टेबल टेनिसको अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय फड्को हो ।
जसले भविष्यमा नेपाली खेलाडीहरूमा सम्भावनाको उज्यालो संकेत दिएको छ।

नेपालले समूह चरणमा खेलेको अन्तिम खेलमा साउदी अरेबियालाई ३–१ को स्पष्ट जित दिंदै समूह ‘१’ बाट उपविजेता बन्दै अन्तिम १६ अर्थात् प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यससँगै नेपाली टोलीले अब मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलाडीहरुले समन्वयपूर्ण प्रदर्शन गर्दै नेपालको झन्डा फेरि अन्तर्राष्ट्रिय रंगशालामा फहराउन सफल भएका छन् । उनीहरूले समूह चरणमा मात्र होइन, प्रतियोगिताको सुरुवाती चरणमै अनुशासन, तालमेल र आक्रमक रणनीतिका साथ उत्कृष्ट क्षमता देखाएका थिए ।

नेपाल रहेको समूहमा भारत, नेपाल र साउदी अरेबिया रहेका छन् भने भारतले दुवै टिमलाई हराउँदै समूह विजेता बन्दै प्रि-क्वार्टरफाइनलमा प्रबेश गरिसकेको छ। नेपालले भने साउदीलाई हराएर ३ अंक जोड्दै दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

यस समुहमा भारतसँगको खेलमा नेपाल पराजित भए पनि, साउदी अरेबियाविरुद्ध खेलेको खेलले नेपाली टोलीको मनोबल उच्च बनाएको छ। युवा खेलाडीहरू दबाबमुक्त भएर खेल्दै साउदी अरेबियाका खेलाडीहरूलाई प्रत्येक सेटमा पछाडि पार्न सफल भए।

अहिले नेपालले प्रि-क्वार्टरफाइनलमा मलेसियासँग खेल्नु पर्ने छ। मलेसिया टेबल टेनिसमा एशियाकै एक सक्षम राष्ट्र मानिन्छ। त्यसैले यो खेल नेपालका लागि निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ। यद्यपि हाल देखाइएको प्रदर्शन हेर्दा नेपाली टोलीमा उत्साह, आत्मविश्वास र खेल कौशलको राम्रो संयोजन देखिन्छ।

यश खेलमा नेपालले मलेसियालाई पराजित गर्न सके यो ऐतिहासिक उपलब्धि हुनेछ। अघिल्ला संस्करणहरूमा यस चरणमा पुग्न नसकेको नेपालका लागि यो पहिलो ठूलो उपलब्धिको रूपमा लिएको छ ।

नेपालमा टेबल टेनिस अन्य खेलको तुलनामा कम लोकप्रिय भए पनि पछिल्लो समय युवा पुस्ताको आकर्षण यसतर्फ बढ्दो छ। शहरी क्षेत्रमा बालबालिका र किशोर–किशोरीहरू टेबल टेनिसमा अभ्यस्त हुँदै गएका छन्।

प्रशिक्षण केन्द्र, स्कुल स्तरीय प्रतियोगिता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत गरिने प्रवर्द्धनले यो खेलमा नयाँ ऊर्जा भित्र्याएको छ।

हालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलीले देखाएको साहसले नेपाली टेबल टेनिस संघ तथा सरकारी निकायहरूलाई थप लगानी र नीति निर्माणमा प्रेरित गर्नेछ।

नेपालका टोली प्रमुख ज्याकी महर्जनका अनुसार खेलाडी हरूको मनोबल उच्च छ। हामी समूह चरणमा निर्धारित लक्ष्य अनुसार अघि बढ्यौं। अबको लक्ष्य मलेसियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्नु हो।

खेलाडीहरू पनि अहिले आत्मविश्वासका साथ अभ्यासमा जुटेका छन्। उनीहरूको भनाइ अनुसार हामी अवसरको सदुपयोग गर्छौं । हरेक खेलमा केही नयाँ सिक्दैछौं। मलेसिया चुनौतीपूर्ण छ, तर हामी तयार छौं।

नेपालको यो जितपछि सामाजिक सञ्जालमा पनि प्रशंसा सुरु भएको छ। नेपाली खेल पत्रकारहरूले टेबल टेनिसमा पहिलो पटक यस्तो अन्तर्राष्ट्रिय फड्को देखाएको भन्दै टोलीलाई बधाई दिएका छन्।

खेलप्रेमीहरूमध्ये धेरैले सरकारसँग टेबल टेनिस जस्ता खेलहरूमा पूर्वाधार र अन्तर्राष्ट्रिय exposure कार्यक्रमको मागसमेत गरेका छन्।

नेपालको टेबल टेनिस टोलीले २९औं एसियाली युथ च्याम्पियनसिपमा देखाएको यात्रा ऐतिहासिक छ। युवाहरूको समर्पण, प्रशिक्षकको मार्गदर्शन र टिम स्पिरिटले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *