विश्वकपको रोमाञ्चक भिडन्त: पिएसजी र इन्टर मायमी आमने सामने
काठमाडौं, असार १०, २०८२
फिफा क्लब विश्वकप २०२५ को रंगीन माहोलमा अहिले विश्व फुटबलप्रेमीहरूका लागि एक विशेष खेलको प्रतिक्षा भइरहेको छ । इन्टर मायमी र पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रत्यक्ष भिडन्त समूह चरणको प्रदर्शन अनुसार यी दुई क्लब अन्तिम १६ मा आमनेसामने हुने भएका हुन्। अझ रोचक कुरा यो खेलले लिओनेल मेस्सीलाई आफ्नो पूर्वक्लब पिएसजी विरुद्ध उत्रन सक्ने अवसर दिलाउनेछ, जसले यो खेललाई भावनात्मक र प्रतिस्पर्धात्मक दुवै बनाएको छ।
इन्टर मायमीले क्लब विश्वकपको समूह ‘ए’ मा आफ्नो स्थान बनायो जहाँ उसले पाल्मेइरास, एफसी पोर्टो, र अल अहलीजस्ता प्रतिष्पर्धी क्लबहरूसँग प्रतिस्पर्धा गर्यो।
इन्टर मायमीले खेलमा सुरुवाति २-० को अग्रता लिएपनि अन्तिम समयसम्म त्यो अग्रतालाई जोगाउन नसक्दा २–२ को बराबरी गर्न बाध्य भयो। खेलको १६औं मिनेटमा तादेओ आलेन्देले गोल गरे भने ६५औं मिनेटमा लुइस सुआरेजले दोस्रो गोल थपे। तर, पाल्मेइरासका पाउलिन्हो र माउरिसियोले अन्तिम १० मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।
पोर्टो र अल अहलीबीचको खेल रोमाञ्चक बराबरीमा टुङ्गियो।
दोस्रो खेलमा एफसी पोर्टो र अल अहलीबीच ४-४ को चमत्कारिक बराबरी भयो। विसाम अबु अलीले ह्याट्रिक गरेपनि पोर्टोले हरेक पटक गोल फर्काउँदै खेल बराबरीमा कायम राख्यो।
यस समूहमा इन्टर मायमी र पाल्मेइरासले समान ५-५ अंक हासिल गरे तर गोलअन्तरमा पछाडि रहेकाले इन्टर मायमी समूहको दोस्रो स्थानमा रहन पुगेको छ ।
समूह बी मा पिएसजीले आफ्नो अनुभव र गहिरो खेल दम्दार परिचय दिदै उसले एटलेटिको म्याड्रिड, बोटाफोगो, र सिआटल साउन्डर्ससँग खेल्दै उत्कृष्ट नतिजा निकाल्यो।
पिएसजीले सिआटल साउन्डर्सलाई अन्तिम खेलमा २-० ले पराजित गर्दै समूह बीको शीर्ष स्थानमा कब्जा जमायो। ३५औं मिनेटमा क्विचा क्वारात्क्षेलियाले पहिलो गोल गरे भने ६७औं मिनेटमा अक्रफ हाकिमीले अर्को गोल थपे।
समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले बोटाफोगोलाई १–० ले हरायो। यद्यपि, तीन टोलीहरू (पिएसजी, एटलेटिको, बोटाफोगो) सबैले समान ६-६ अंक हासिल गरे। गोलअन्तरका आधारमा पिएसजी समूह विजेता बन्यो, बोटाफोगो दोस्रो स्थानमा रह्यो र एटलेटिको प्रतियोगिताबाट बाहिरियो।
फुटबलका महान हस्ती लिओनेल मेस्सीले सन् २०२३ मा पिएसजीबाट बिदा लिएर इन्टर मायमीमा प्रवेश गरेका थिए। यद्यपि उनले पिएसजीमा उल्लेखनीय प्रदर्शन गरे तापनि अन्त्यमा क्लब र उनको सम्बन्ध चिसिएको थियो। अहिले उनी आफ्नो पूर्वक्लबविरुद्ध मैदानमा उत्रन लागेका छन् । जुन खेल केवल प्रतियोगिताको हिसाबले मात्र महत्वपूर्ण होईन अब झन बढी भावनात्मक रूपमा पनि गहिरो बन्न सक्नेछ ।
यता इन्टर मायमीका कप्तानको रुपमा मेस्सीले क्लबलाई अगाडि बढाउनुपर्ने चुनौती छ, भने पिएसजीको लागि उनी अझै पनि चेतावनीका पात्र हुन्।
अन्तिम १६ को अर्को महत्वपूर्ण खेलमा समूह बी को दोस्रो स्थानमा रहको बोटाफोगोले समूह ए विजेता पाल्मेइराससँग प्रतिस्पर्धा गर्नेछ। दुवै ब्राजिलियन क्लबहरूबीचको भिडन्त पारम्परिक प्रतिद्वन्द्वीतालाई उजागर गर्नेछ।
पिएसजीको लागि यो खेलमा आक्रमणमा हाकिमी, क्वारात्क्षेलिया, र डेम्बेले जस्ता खेलाडीहरूले असर पार्न सक्नेछन्। त्यस्तै, गोलकिपर डोनारुम्माको प्रदर्शन पनि निर्णायक हुनसक्छ। इन्टर मायमीको पक्षमा मेस्सी र सुआरेजको जोडी निर्णायक बन्न सक्ने प्रवल सम्भावना छ।
अब यो खेल केवल फुटबलको प्रतिस्पर्धा रहेन, यसमा भावना, इतिहास, बदला, र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको खेल बन्ने पक्का छ। इन्टर मायमी पहिलोपटक क्लब विश्वकपमा यति अगाडि पुगेको हो भने पिएसजी उपाधिका लागि दावेदारको रुपमा हेरिएको छ। यस भिडन्तले को इतिहास बनाउने हो भन्ने प्रश्न सबैका मनमा उब्जिएको छ।
मेस्सी आफ्ना आलोचकहरूलाई जवाफ दिनेछन् कि पिएसजीले आफ्नो पूर्वस्टारलाई दवाउनेछ? यति धेरै प्रश्नहरूको जवाफ यही एक खेलमा समेटिनेछ।
फिफा क्लब विश्वकप २०२५ को अन्तिम १६ मा पिएसजी र इन्टर मायमीको यो महाभिडन्त नछुटाउनुहोस्!