Headlines

अमेरिकी रास्ट्रपति ट्रम्पलाई पाकिस्तानको समर्थन नोबल पुरस्कारको लागि सिफारिस गर्ने

पाकिस्तानले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी काठमाडौं दैनिक: असार ९, २०८२

इस्लामाबाद, पाकिस्तानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरिरहेको छ। पाकिस्तान सरकारले भनिएको छ कि ट्रम्पले भारत र पाकिस्तानबीच भएको पछिल्लो संघर्षमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई यो पुरस्कार दिनु उपयुक्त हुनेछ।

पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ (पूर्व ट्विटर) खाताबाट पोस्ट गर्दै भनिएको छ हालैको भारत–पाकिस्तान संकटको समयमा ट्रम्पले निर्णायक कूटनीतिक हस्तक्षेप र प्रभावशाली नेतृत्व देखाए। यो योगदान विश्व शान्तिका लागि अतुलनीय छ।

यता भारतले भने अमेरिकाको कुनै पनि प्रकारको मध्यस्थता भएको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरिसकेको छ। भारत सरकारको भनाइ छ कि उनीहरू द्विपक्षीय मुद्दामा तेस्रो पक्षको हस्तक्षेप चाहँदैनन्।

गत महिना भारत र पाकिस्तानबीच चार दिनसम्म सैनिक झडप भएको थियो। त्यसपछि ट्रम्पले अप्रत्याशित रूपमा दुबै देशबीच युद्धविराम भएको घोषणा गरेका थिए। यसै विषयमा पाकिस्तानले ट्रम्पको प्रयासको कदर गर्दै नोबेल पुरस्कारको सिफारिस गर्न लागेको हो।

पाकिस्तानको भनाइ अनुसार ट्रम्पले भारत र पाकिस्तान दुबै देशसँग गहिरो कूटनीतिक संवाद गरी स्थिति नियन्त्रणमा ल्याए। पाकिस्तानले जारी गरेको वक्तव्यमा भनिएको छ राष्ट्रपति ट्रम्पले रणनीतिक सोच र उच्च स्तरको नेतृत्वद्वारा दुबै देशबीच तनावलाई घटाउने पहल गरेका थिए। उहाँको यो प्रयास साँचिकै शान्तिदूतको परिचाय हो जारी वक्तव्यमा भनिएको छ ।

पाकिस्तानको तर्फबाट वक्तव्य सहितको समर्थन आएपछि वासिङ्टन र नयाँ दिल्लीबाट भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

ट्रम्प स्वयंले पनि पटक पटक विभिन्न संचार माध्यमहरुमा भनेका छन्  भारत र पाकिस्तानबीचको तनाव कम गर्न अमेरिकाको पहल रहेको दाबी गरेका छन्। उनले भनेका थिए कि व्यापारलाई माध्यम बनाउँदै दुबै पक्षलाई सम्झाउने प्रयास गरेका थिए।

ट्रम्पले पत्रकारहरूसँग बोल्दै भनेका थिए मैले भारत र पाकिस्तानलाई भनेँ हामी तपाईंहरूसँग धेरै व्यापार गर्नेछौं अब यो लडाइँ रोकिनुपर्छ। अनि त्यस लगत्तै युद्धविराम भयो उनले यसलाई अमेरिकी नेतृत्वको सफलता भएको बताए।

पाकिस्तानले यस कथालाई समर्थन गर्दै आएको भए पनि भारतले भने अमेरिकी भूमिका अस्विकार गर्ने अडान लिएको छ।

पाकिस्तान भित्रै पनि मतभेद:

पाकिस्तानको यो निर्णयलाई त्यहाँकै राजनीतिज्ञहरूले पनि फरक -फरक ढंगले हेरेका छन्। यसले पाकिस्तान भित्रै पनि यो विषयलाई लिएर आन्तरिक मतभेद रहेको प्रष्ट पारेको छ ।

पाकिस्तानी संसदको रक्षा समितिका पूर्व अध्यक्ष मुशाहिद हुसेनले ट्रम्पको समर्थन गर्दै भने ट्रम्प पाकिस्तानका लागि राम्रो हो। यदि यसले ट्रम्पको अहंकार सन्तुष्ट हुन्छ भने ठिकै हो। युरोपेली नेताहरू पनि उनलाई खुसी पार्न तल्लीन छन्।

तर अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदुत  मलीहा लोधी भने असन्तुष्ट देखिए। उनले एक्समा लेखिन् ट्रम्पले इजरायलको गाजामाथिको आक्रमणलाई समर्थन गरे इरानमाथिको आक्रमणलाई उत्कृष्ट भने। यस्तो व्यक्तिलाई नोबेल शान्ति पुरस्कारको सिफारिस गर्नु दुर्भाग्यपूर्ण छ। यसले हाम्रो राष्ट्रिय गरिमामाथि आँच पुर्‍याउँछ।

राष्ट्रपति ट्रम्प सधैं आफू नोबेल पुरस्कारका योग्य भएको बताउँदै आएका छन्। उनले विशेषगरी पूर्वराष्ट्रपति बाराक ओबामालाई लक्षित गर्दै भनेका छन् कि ओबामा शपथ लिएपछि केही महिनामै नोबेल पाए तर मैले जे गरे पनि मलाई दिइँदैन।

हालै ट्रम्पले आफ्नै सोशल मिडिया प्लेटफर्म ट्रुथ सोसल’मा लेखेका छन् । मैले कयौं देशहरूबीच शान्तिवार्ता गराएँ। तर जे गरे पनि मलाई नोबेल पुरस्कार दिइने छैन।

उनी राष्ट्रपति बन्नु अघि नै र पछि पनि रुस-युक्रेन, इजरायल-गाजा जस्ता अन्तर्राष्ट्रिय संकटहरूमा शान्ति स्थापना गर्ने घोषणा गर्दै आएका छन्। तर हालसम्म ती दुवै ठूला युद्धमा ठोस समाधान दिन सकिएका छैनन्।

पाकिस्तानले ट्रम्पलाई नोबेल पुरस्कारको लागि सिफारिस गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। एकातर्फ पाकिस्तान ट्रम्पको प्रयासलाई विश्व शान्तिको उदाहरणको रूपमा देखाइरहेको छ भने अर्कातर्फ भारतले त्यसलाई अस्वीकार गर्दै अन्तर्राष्ट्रिय हस्तक्षेप नचाहने अडान दोहोर्‍याइरहेको छ।

ट्रम्प स्वयं यसबाट खुशी देखिन्छन् तर आलोचकहरूका अनुसार भने उनको विगतका केही विवादास्पद भनाइहरू जस्तै गाजामा इजरायलको कारवाहीको समर्थन गर्ने जस्ता घटनाले उनलाई नोबेल शान्ति पुरस्कारको लागि योग्य बनाउँदैन।

यद्यपि पाकिस्तानको यो सिफारिसले ट्रम्पलाई पुरस्कार दिलाउँछ कि दिलाउदैन ? भन्ने कुरा त आगामी आउदो अक्टोबरमा थाहा हुनेछ जब नोबेल शान्ति पुरस्कारको लागी घोषणा गरिनेछ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *