मंसिर ५, २०८२। काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – विश्व कराते च्याम्पियनसिपमा ऐतिहासिक उपस्थिति दर्ज गर्न नेपाली खेलाडी एरिका गुरुङ र सानुमाया थिङ कठोर प्रशिक्षणमा जुटेका छन्। इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने २७औं विश्व कराते च्याम्पियनसिपमा नेपालबाट यी दुई खेलाडी सहभागी हुनेछ ।
एरिका कुमिते तर्फ र सानुमाया कातातर्फ प्रतिस्पर्धा गर्दै छन्। दुवैले हालसम्मको प्रदर्शन र अन्तर्राष्ट्रिय अनुभवका आधारमा उत्कृष्ट परिणाम ल्याउने लक्ष्य लिएका छन्। प्रशिक्षक कुशल श्रेष्ठको नेतृत्वमा सुरु भएको ‘मिसन २०२६’ प्रशिक्षण नै विश्व च्याम्पियनसिप तयारीको मुख्य आधार भएको बताइन्छ।

गत महिना पेरिसमा आयोजित क्वालिफायरमा प्रभावशाली प्रदर्शन गर्दै एरिकाले युनिभर्सालिटी कोटा मार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएकी हुन्। सानुमायाले भने तास्कन्दमा भएको एसियन सिनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्वालिफिकेशन सुनिश्चित गरेकी थिइन्।
प्रशिक्षक श्रेष्ठका अनुसार विश्वका उच्चस्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्नु नै खेलाडीका लागि ठूलो अवसर हो। यस यात्राले आगामी जापान एसियाड (२०२६) का लागि थप तयारी र आत्मविश्वास बढाउने विश्वास प्रशिक्षकको छ।









