मंसिर ४, २०८२। काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – माइतीघर मण्डलामा १० दिनदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले बिहीबार साँझ अनशन तोडेको हो। जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको न्यायका लागि राखिएका ४ बुँदे माग सम्बोधनमा सरकार अघि बढेको आश्वासन पाएपछि सिंहले अनशन अन्त्य गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा मारिएका तथा घाइते परिवारलाई न्याय दिनुपर्ने, र अन्य संस्थागत सुधारका मागसहित सिंह मंसिर २५ गतेदेखि अनशनमा बसेका थिए।
अनशन तोडाउने प्रक्रियामा गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी माइतीघर पुगेका थिए। उनीहरू सिंहका नाममा गृह मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले लेखेको पत्र लिएर पुगेका थिए। सो पत्रमा सिंहका सबै माग सम्बोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख छ।

सिंहले घाइते जेन–जी कार्यकर्ता मदन कार्की र विजेश तामाङको हातबाट जुस पिएर अनशन तोडे। उनले भने, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयको अनुरोध र घाइते साथीहरूको सहमतिपछि अनशन अन्त्य गरेको हुँ।
सरकारले माग सम्बोधनमा ठोस प्रगति भएको दाबी गरे पनि आन्दोलनकारीहरूको चासो भने अझै यथावत् छ। माग पूरा भएर व्यवहारिक रूपमा लागू नहुन्जेल निगरानी र दबाब निरन्तर रहने उनीहरूको भनाइ छ।








