मंसिर ४, २०८२। काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – बाराको सिमरामा भएको झडपलाई लिएर नेकपा एमालेले सरकारप्रति कडा आपत्ति जनाएको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीले हालका गतिविधिले सरकार ‘राजनीतिक दललाई निषेध गर्ने मार्ग’ तर्फ लागिरहेको दाबी गरेको छ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि प्रतिक्रिया दिँदै भने,
नेताहरूलाई स्वतन्त्र रूपमा देशभर घुम्न नदिने, कार्यक्रममा सहभागी हुन रोक्ने प्रयासहरू सरकारले निर्वाचनको वातावरण बनाउन होइन, निषेधको बाटो समातेको संकेत दिन्छ। यही कारण प्रतिनिधिसभा पुनर्स्थापनाको प्रसंग अझ बलियो भएर आएको छ।
एमालेले सिमरा घटनालाई योजनाबद्ध रूपमा आफ्ना कार्यक्रम लक्षित गरी मुठभेड गराउने प्रयास भएको बताएको छ।
ज्ञवालीका अनुसार पछिल्ला दिनमा तराई–मधेसमा नेताहरूको गतिविधि रोक्ने, स्थान सीमित गर्ने, तथा घुसपैठ गराएर विवाद सिर्जना गर्ने घटना बढेको बताएको छ।
उनले थपे, हामी पूर्ण सतर्क छौं। नेतृत्वको सुरक्षा र कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न स्वयंसेवक टोलीहरू तयारी अवस्थामा छन्।
सचिवालय बैठकले आगामी कार्यक्रम तथा महाधिवेशन तयारीलाई अगाडि बढाइने जनाएको छ। एमालेले हाल देखिएका ‘अवाञ्छित गतिविधि’ का बीच पनि आफ्ना कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने बताएको छ।
हालै बाराको सिमरामा एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएको थियो। उक्त घटनापछि स्थानीय प्रशासनको भूमिकामाथि पनि एमालेले प्रश्न उठाएको छ।








