काठमाडौं, साउन १० – तेहरानस्थित जेलमा बन्दी जीवन बिताइरहेका पाँच नेपालीलाई नेपाल सरकारको पहलमा उद्धार गरी स्वदेश फर्काइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार इरानको अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहयोगमा बिहीबार (श्रावण ९ गते) उनीहरूलाई काठमाडौं ल्याइएको हो।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उद्धार प्रक्रियामा सहयोग गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा IOM प्रति धन्यवाद व्यक्त गरिएको छ।
मन्त्रालयले युद्ध र द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक परेको खण्डमा आपतकालीन उद्धार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
गत जुन १३ देखि इजरायल र इरानबीच सुरु भएको द्वन्द्व जुन २३ मा युद्धविराममा पुगेपछि क्षेत्रको सुरक्षास्थितिमा केही सुधार आएको छ। त्यस अवधिमा नेपाल सरकारले इरान र इजरायलमा रहेका नेपालीको विवरण संकलन गर्दै उनीहरूको सुरक्षाको विषयमा चासो देखाएको थियो।
यसअघि, सोही द्वन्द्वका बेला इरानमा रहेका नौ जना नेपालीलाई भारत सरकारको सहयोगमा ‘अपरेसन सिन्धु’ अन्तर्गत भारतीय विमानमार्फत उद्धार गरिएको थियो। ती सबैलाई भारत हुँदै स्थलमार्गबाट सकुशल घर पठाइएको थियो।
नेपाल सरकारको तर्फबाट युद्धग्रस्त क्षेत्रका नेपालीको उद्धार कार्यलाई निरन्तरता दिइएको जनाउँदै परराष्ट्र मन्त्रालयले समन्वय, सहयोग र मानवीय संवेदनशीलता देखाउने सबै निकायप्रति आभार व्यक्त गरेको छ।