काठमाडौं, साउन ९ – नेपालका तीन प्रतिष्ठित फुटबल एकेडेमी हरु गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोलीले डेनमार्कमा सम्पन्न डाना कप २०२५ को अण्डर–१४ उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
डाना कपको फाइनल खेलमा नेपाली टोलीले केन्याको प्रतिनिधि टोलीलाई ३-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। नेपाली टोलीका तर्फबाट रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले एक–एक गोल गरे।
टुर्नामेन्टको सेमिफाइनलमा नेपालले यूएईको आइएफए स्पोर्टस क्लबलाई ३-० ले पराजित गरेको थियो। सेमिफाइनल जितमा रिहान बुढा मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाको गोलले निर्णायक भूमिका खेलेको थियो।
एजी टेनका प्रशिक्षक अनिल गुरुङका अनुसार, टोलीले उत्कृष्ट समन्वय र रफ्तार देखाउँदै सम्पूर्ण खेलमा नियन्त्रण कायम राखेको थियो।
नेपालका लागि यो उपाधि केवल खेलकुद मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा युवा खेलाडीहरूको सामर्थ्यको पनि प्रमाण हो। डाना कप विश्वकै प्रतिष्ठित यु–१४ फुटबल प्रतियोगितामध्ये एक हो जहाँ विश्वका विभिन्न देशका एकेडेमी तथा युवा टोली सहभागी हुन्छन्।
यो उपलब्धिसँगै नेपाली फुटबलको भविष्यप्रति आशा थपिएको छ। खेलाडी, प्रशिक्षक, अभिभावक र समर्थकहरू सबैको योगदानले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चम्काउन सफल बनाएको हो।