कार्तिक २४, २०८२। उपसना पौडेल

काठमाडौं, कार्तिक – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा ठूला अनियमितता भएको पुष्टि गर्दै अनुसन्धान सुरु गरेको छ। यस घोटालामा अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ।
नेपाल ट्रष्टले करिब एक दशकअघि यति समूहको थमसेर्कु डेभलपर्सलाई दरबारमार्गको करिब दुई रोपनी जग्गा ३० वर्षका लागि लिजमा दिएको थियो। प्रारम्भिक अध्ययन अनुसार उक्त सम्झौताबाट राज्य कोषलाई करीब साढे पाँच अर्ब रुपैयाँ नोक्सान पुगेको पाइएको छ।

प्रतिस्पर्धी बोलपत्र प्रक्रियामा थमसेर्कुले दुईथरी विवरण पेश गरी दर हेरफेर गरेको थियो। उसको प्रस्तावअनुसार कुल ६ अर्ब २६ करोड रुपैयाँ तिर्नुपर्ने भए पनि चलखेलमार्फत सम्झौता गरी मात्र १ अर्ब ४० करोड रुपैयाँमा लिज मिलाइएको पाइएको हो। यसरी गणना गर्दा करिब ४ अर्ब ८६ करोड रुपैयाँ राज्यले गुमाएको देखिन्छ।
भवन निर्माणका नाममा थप तीन वर्ष र लिज अवधि बढाएर ३० वर्षको सम्झौता गर्दा ट्रष्टलाई कुल ५ अर्ब ५८ करोड रुपैयाँ घाटा पुगेको अनुमान छ। थमसेर्कुले थप एक तला निर्माण गरी भाडामा दिँदै आएको तथ्यले पनि राज्यलाई नोक्सान हुनेगरी लाभ उठाएको देखिन्छ।

सीआईबीले यो प्रकरणमा संलग्न अधिकारी, व्यवसायी र तत्कालीन राजनीतिक तहसम्म अनुसन्धान विस्तार गर्ने तयारी गरेको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो फाइल ७ वर्षअघि नै “गुपचुप” रूपमा थन्क्याएको थियो। अहिले पुनः यो विषय सार्वजनिक भएपछि सरकारी सम्पत्ति दुरुपयोगका घटना फेरि चर्चामा आएका छन्।












