काठमाडौँ, श्रावण ८ – उज्यालो नेपाल अभियान अन्तर्गत देशका १६५ निर्वाचन क्षेत्रबाट चयन भएका ‘युवा सांसद’हरूले बिहीबार एक भव्य समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्। राजधानीको सभागृहमा सम्पन्न शपथ समारोहमा उज्यालो नेपाल अभियानका संयोजक तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथि रहेका थिए ।
उनीहरूले ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालसमक्ष शपथ लिए। कार्यक्रममा बोल्दै घिसिङले देशको समृद्धिका लागि भक्तिको उज्यालो मात्र नभई स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र रोजगारीमा समेत उज्यालो ल्याउनुपर्ने बताए। उनले युवाहरूले नेतृत्वमा सक्रिय भई देश विकासमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कुर्सीको लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्ने धारणा राखिन्। उनले देशको उन्नतिका लागि सांसदहरूले समर्पण भावका साथ काम गर्नुपर्नेमा जोड दिइन्।
शपथ समारोहमा परराष्ट्र मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरी दाहाल, युवा अभियन्ता विजय कँडेल, निगम हुमागाईं लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। ‘युवा सांसद’ कार्यक्रमले राजनीतिक नेतृत्वमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।
ग्लोबल एफ पार्लियामेन्टद्वारा सञ्चालित यो कार्यक्रमले युवालाई नेतृत्वमा स्थापित गर्दै राष्ट्र निर्माणमा उनीहरूको भूमिका सशक्त बनाउने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्।