काठमाडौं,साउन ७ – सन् २०२६ को विश्वकपभन्दा ठीक अगाडि अर्जेन्टिना र स्पेनबीच बहुप्रतीक्षित ‘फिनालिसिमा’ खेल आयोजना हुने तय भएको छ।
अर्जेन्टिनाले कोपा अमेरिका २०२४ जितेपछि र स्पेनले युरो २०२४ च्याम्पियन बनेपछि यी दुई च्याम्पियन टिमबीचको भिडन्त एक ऐतिहासिक खेलको रूपमा हेरिएको छ। अब उक्त खेलको सम्भावित आयोजक देशको सूचीमा उरुग्वे पनि थपिएको छ।
स्पेन फुटबल महासंघ (RFEF) का अध्यक्ष राफाएल लुजान र अर्जेन्टिना फुटबल एसोसिएसन (AFA) का अध्यक्ष क्लाउडियो तापियाबीच भएको सहमतिअनुसार यो खेल मार्च २०२६ को अन्तर्राष्ट्रिय ब्रेकको समयमा आयोजना हुने तय भएको छ। यद्यपि औपचारिक मिति भने अझै सार्वजनिक गरिएको छैन।
सन् २०२२ मा इंग्ल्यान्डको वेम्बली रंगशालामा फिनालिसिमा भएको थियो। यसपटक पनि इंग्ल्यान्डसँगै कतार र साउदी अरेबियाले खेल आयोजना गर्ने प्रस्ताव गरेका थिए। अब उरुग्वे फुटबल संघ (AUF) ले मोन्टेभिडियोस्थित ऐतिहासिक एस्टाडियो सेनटेनेरियो रंगशालामा खेल आयोजना गर्ने प्रस्ताव अघि सारेको छ।
यो रंगशालामा सन् १९३० को पहिलो विश्वकप फाइनल खेल भएको थियो र सन् २०३० मा हुने विश्वकपको सुरुवातसमेत यही रंगशालाबाट हुने प्रस्ताव छ। AUF ले रंगशालामा सुधार कार्य सुरु गर्नुअघि नै यो फिनालिसिमा खेल आयोजना गर्न चाहेको बताइएको छ।
मेस्सी VS यामालको भिडन्त:
यो फिनालिसिमा खेललाई लिओनेल मेस्सी र लामिन यामाल बिचको पुस्तागत टक्करको रूपमा हेरिएको छ। मेस्सी आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्त्यतिर आइपुगेका छन् भने १६ वर्षीय यामालले युरो २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ स्टारको रूपमा उदाएका छन्।
हालसम्म फिनालिसिमा प्रतियोगिताको तीन संस्करण मात्र सम्पन्न भएका छन्। तीमध्ये १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई हराउँदै घरेलु मैदानमा उपाधि जितेको थियो। त्यसयता कुनैपनि फिनालिसिमा दक्षिण अमेरिकामा भएको छैन। यदि उरुग्वे आयोजक बन्छ भने यो दोस्रोपटक दक्षिण अमेरिकी भूमिमा फिनालिसिमा आयोजना हुनेछ।
फिनालिसिमाको मिति र स्थल दुवैमा अन्तिम निर्णय भने गरिएको छैन। यद्यपि उरुग्वेले आयोजना गर्न जोडदार प्रयास गरिरहेको छ र FIFA मापदण्ड अनुसार रंगशालालाई तयार पार्न प्राविधिक तयारी सुरु गरिएको खबर सार्वजनिक भएको छ।