काठमाडौं,साउन ७ – भक्तपुरको मध्यपुरमा रहेको इनर ह्वील डिस्ट्रिक्ट ३५० क्लबले एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
दुवै खेलाडीलाई २५ हजार रुपैयाँ नगदसहित ‘उत्कृष्ट महिला खेलाडी’ अवार्ड प्रदान गरिएको छ। क्लबकी संस्थापक तथा डिस्ट्रिक्ट उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई राष्ट्रिय स्तरमा सम्मान गर्न पाउनु आफूहरूका लागि गर्वको विषय रहेको बताइन।
समारोहमा सम्मानित खेलाडीहरूले निजी पहलबाट प्राप्त सम्मानले आफूहरूलाई अझ समर्पित भएर खेल्न प्रेरणा मिल्ने बताए र आयोजकलाई धन्यवाद दिए।
एरिका गुरुङ कराते वान प्रिमियर लिगमा कांस्य पदक, थाइल्यान्ड ओपन र यूएस ओपनमा स्वर्ण, र एसियन च्याम्पियनशिपमा रजत पदक विजेता हुन् ।
डा. सृष्टी श्रेष्ठ प्रजापतीले भन्नुभयो, महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु गर्वको विषय हो, र भविष्यमा यस्ता पाइलाहरु अझ व्यापक बनाउने प्रतिबद्धता जनाउछु।
उहाँले यस सम्मानमार्फत राष्ट्रिय खेलकुदमा महिला खेलाडीहरूको योगदानप्रति सार्वजनिक मान्यता र समर्थन दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
एरिका गुरुङ र अञ्जना राना मगरजस्ता प्रतिष्ठित महिला खेलाडीहरूलाई निजी र संस्थागत सम्मान प्राप्त हुनुले नेपालमा महिला खेलकुदको प्रतिभा र योगदानको लागि सकारात्मक संकेत हो। यसले आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ ।