भदौ ११, २०८२।
काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०८२ का लागि लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई अनुबन्धन गरेको छ । मंगलबार जारी गरिएको विज्ञप्तीमार्फत क्लबले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टोलीमा भित्र्याएको जनाएको छ ।
यसअघि नै रसियाकी ब्लकर भेरोनिका जुवरेभा लाई अनुबन्ध गरिसकेको लुम्बिनीले अब तीन विदेशी खेलाडीका साथ प्रतियोगितामा प्रवेश गर्ने भएको छ । विदेशी अनुभव र नेपाली प्रतिभाको संयोजनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको क्लबले जनाएको छ।
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही लाई मार्की खेलाडी बनाएको लुम्बिनीले अक्सनमार्फत राष्ट्रिय टोलीका सदस्य कामना विष्ट र शान्तिकला तामाङ लगायतका खेलाडीलाई पनि अनुबन्ध गरेको छ । यू-२० टोलीमा खेलिसकेका अलिसा मानन्धर, अनुसा चौधरी र जेनिशा विश्वकर्मा, साथै रोमा महतो र रिकजना माझी पनि टोलीमा समावेश छन् ।

लुम्बिनीले ट्यालेन्ट हन्टमार्फत उदाएकी खेलाडी जानकी केसी लाई समेत अनुबन्ध गरिसकेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सशक्त संयोजनले टोलीलाई यस सिजनको बलियो प्रतिद्वन्द्वीका रूपमा उभ्याउने विश्वास गरिएको छ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुने छ । यस प्रतियोगितामा आकर्षक खेल प्रदर्शनसँगै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबलको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ ।