भदौ ९, २०८२।
काठमाडौँ – नेपाल यू–१७ महिला फुटबल टोली साफ च्याम्पियनसिपमा फेरि पराजित भएको छ। आइतबार भुटानको थिम्पुमा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले हार्दै उपाधि सम्भावना झन् कमजोर बनाएको हो।
डबल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा नेपालले तीन खेलमध्ये दुईमा हार भोगिसकेको छ। यसअघि भारतसँग ७–० को हार बेहोरेको नेपालले भुटानविरुद्ध मात्र कठिन जित हासिल गरेको थियो।
आइतबारको खेलमा थुनुए मार्माले ४१ औं मिनेटमा बंगलादेशलाई अग्रता दिलाइन्। त्यसपछि सौरभी प्रीतिले ४४ औं मिनेटमा दोस्रो गोल थपिन्। खेलको इन्ज्युरी समयमा ममानी चक्काले तेस्रो गोल गर्दै नेपालको हार पक्का गरिन्।
नेपालले खेल अवधिभर केही अवसर बनाए पनि निर्णायक प्रहार गर्न सकेन। यस हारपछि नेपाल तीन खेलबाट तीन अंकमै सीमित रह्यो।
प्रतियोगितामा भारत लगातार तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ र उपाधिका बलियो दावेदार बनेको छ। बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने आयोजक भुटान अझै अंकविहीन छ।
अब नेपालले बुधबार फेरि बंगलादेशसँगै खेल्नेछ। त्यसै दिन भारत र भुटान आमनेसामने हुनेछन्। प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन बन्नेछ।