
भदौ ७, २०८२।
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बासडरको लागि सम्झौता नविकरण भएको छ ।
कार्यक्रममा बोल्दै साम्बाले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको बताइन् । मेरो लागि पहिलो ब्राण्ड एम्बासडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो ।
सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्विर देख्थें । र सपना थियो कुनै दिन मेरो पनि त्यस्तो दिन आउनेछ। कृषि विकास बैंकले पहिलो पटक एम्बासडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु’ उनले भनिन् ।
सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट साक्षीमा मार्केटिङ विभाग प्रमुख सरिता दहाल उपस्थित थिइन्।
कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।
बैंकका प्रमुख कार्यकरी अधिकृत गोविन्द गुरुङले साम्बा एक फुटबल खेलाडी मात्र नभएर मिहिनेतको प्रतीक पनि भएको बताए । साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रो बैंकको लागि पनि प्रतिष्ठाको विषय हो ।
उहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ र वहाँ आफ्नो क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ्ग क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । वहाँको मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ उनले भने।
मार्केटिङ विभाग प्रमुख दहालले बैंकको प्रचारमा साम्बाको उपस्थितिले बेग्लै प्रभाव पारेको जानकारी दिइन् ।