कानकाठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पेशी फेरि एक पटक सरेको छ।
बिहीबारका लागि तोकिएको सुनुवाइ फेरि पनि यसअघि निर्णय दिइसकेका न्यायाधीशको इजलासमा परेपछि मुद्दा हेर्न नमिल्ने भन्दै अर्को साता पुन: सर्ने भएको हो।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासमा ‘ख’ नम्बरमा पेसी परे पनि सुवेदी र ढुंगानाले यसअघि नै एनआरएन निर्वाचनसम्बन्धी विवादमा निर्णय गरिसकेकोले मुद्दा हेर्न नमिल्ने देखिएको हो।
यो मुद्दा पछिल्ला महिनाहरूदेखि निरन्तर पेसीमा आइरहेको छ। यसअघि सर्वोच्चले शेष घले नेतृत्वको संयन्त्रमार्फत नयाँ निर्वाचन गराउन आदेश दिएको थियो। सोही आदेश अनुसार निर्वाचन तयारी भइरहेको बेलामा बद्री केसी र आरके शर्मा सर्वोच्च पुगेका थिए। अहिले पनि ६ वटा निवेदन मुद्दाका रूपमा कायम छन्।
केसीलाई परराष्ट्र मन्त्रालयले रोक लगाउने निर्णय सर्वोच्चले बदर गरे पनि घले समूहद्वारा सम्पन्न निर्वाचन र नयाँ अध्यक्ष महेश श्रेष्ठको चयनपछि विवाद झन् जटिल बनेको छ।
पूर्ण इजलासद्वारा सबै निवेदनको संयुक्त सुनुवाइ गर्ने प्रयास भइरहेको छ। तर हरेक बिहीबार मात्र तोकिने पूर्ण इजलासमा आज पनि सुनुवाइ सम्भव नभएपछि अर्को साता पुनः नयाँ इजलासमा पेशी तोकिनेछ।
रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।
प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।
जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।
असई रागनी यादव
यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।
लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।