Headlines

राष्ट्रसंघ सम्मेलनको बहानामा ७३ नेपाली स्पेनमै ‘हराए’ सीआईबीले सुरु गर्‍यो अनुसन्धान

राष्ट्रसंघ सम्मेलनको बहानामा ७३ नेपाली स्पेनमै ‘हराए’ सीआईबीले सुरु गर्‍यो अनुसन्धान


राष्ट्रसंघ सम्मेलनको बहानामा ७३ नेपाली स्पेनमै ‘हराए’ सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं, असार ३२ – स्पेनको सेभियामा भएको राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन भिजिट भिसामा गएका नेपालीहरूको ठूलो संख्याले फर्केर नआएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन सुरु गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनमा एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो। समितिले भारतस्थित स्पेनिस दूतावासलाई पत्र पठाउँदै सम्मेलनमा गएका सम्पूर्ण नेपालीहरूको नामावली मागेको छ।

८२ जना गएका, ७३ जना अझै नफर्किएको खुलासा:

३० जुनदेखि ३ जुलाई (असार १६–१९) सम्म सेभियामा सम्पन्न चौथो अन्तर्राष्ट्रिय सम्मेलन अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स कार्यक्रममा सरकारी प्रतिनिधिमण्डल बाहेक ८२ जना नेपाली ‘भिजिट’ भिसामा स्पेन गएका थिए। तीमध्ये ७३ जना अझै नेपाल फर्किएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विवरणअनुसार ३३ जना पर्यटक भिसामा र ४९ जना सम्मेलनमा सहभागिताका लागि स्पेन गएका थिए। अहिलेसम्म ९ जना मात्र फर्किएका छन्। बाँकीको अवस्था अज्ञात छ।

प्रहरीले संगठित गिरोहको संलग्नता रहेको आशंका गर्दै छानबिन अघि बढाएको छ। अनुसन्धानका क्रममा रकम बुझाएर स्पेन पठाइएको, सरकारी संयन्त्र प्रयोग गरिएको, र संस्थागत सिफारिसमार्फत भिसा दिलाइएको सम्भावना रहेको अधिकारीहरूको भनाइ छ।

यसै क्रममा १ असारदेखि १५ असारसम्म स्पेन जाने भनी तयारीमा रहेका ५५ जना नेपालीलाई विमानस्थलमै रोकेर फर्काइएको थियो। उनीहरूको नाम स्पेनिस दूतावासले अध्यागमनमा पठाएको थियो।

गृहमन्त्री रमेश लेखकको संलग्नतामाथि पनि विपक्षी दलहरूले गम्भीर शंका व्यक्त गरेका छन्। रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै डेढ महिनादेखि संसद् अवरुद्ध पारिरहेका छन्। तर सरकार र सत्तारूढ दल एमालेले भने आरोपको खण्डन गर्दै आएका छन्।

सरकारले यसबीच अध्यागमन सुधारका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छुट्टै कार्यदल पनि बनाएको छ। विपक्षी दलहरूले त्यसको औचित्यमाथि प्रश्न उठाउँदै न्यायिक आयोग मार्फत निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

गैरसरकारी संस्थाहरूको सिफारिसमा भिसा?

छानबिनको केन्द्रमा गैरसरकारी संस्थाहरू पनि रहेका छन्। प्रहरी स्रोतका अनुसार, स्पेन गएको टोली कुन-कुन संस्थाबाट सिफारिसमा गयो? कुन संस्थाले भिसा आवेदन गर्‍यो? भन्ने विवरण पनि स्पेनिस दूतावाससँग माग गरिएको छ।

नेपालमा स्पेनसँगका सबै कूटनीतिक सम्बन्ध भारतस्थित दूतावासमार्फत सञ्चालन हुने भएकाले त्यहीँबाट सूची संकलन गर्ने तयारी प्रहरीले गरेको हो।

स्पेन सम्मेलनको नाममा नेपाली नागरिकलाई अवैध रूपमा विदेश पठाइएको गिरोहले सरकारी संयन्त्रको दुरुपयोग गर्दै भिजिट भिसा बेचबिखन गरेको भन्ने गम्भीर आरोप सार्वजनिक भएको छ। यस प्रकरणले नेपालको अध्यागमन प्रणाली, सरकारी संयन्त्र, र कूटनीतिक प्रक्रियाको दुरुपयोगलाई समेत उजागर गरिदिएको छ।

अब प्रहरी छानबिन समिति र स्पेनिस दूतावासबीच समन्वयपछि मात्रै यथार्थ स्पष्ट हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *