काठमाडौं, असार ३१- लामो समयदेखि चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रेडमार्क विवाद अन्तत टुंगिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिबीच भएको विवादलाई उद्योग विभागले क्यानको पक्षमा टुंग्याएको छ।
जोरा स्पोर्ट्सले क्यानमाथि ‘एनपिएल’ नाम र लोगोको नक्कल गरी अनाधिकृत प्रयोग गरिएको’ आरोप लगाउँदै विभागमा उजुरी दिएको थियो। तर विभागले असार २४ गते निर्णय गर्दै जोराको दाबी अपूरो रहेको ठहर गरेको छ। सो निर्णयअनुसार विभागले क्यानलाई मंगलवार पत्रचारमार्फत जानकारी गराएको हो।
उद्योग विभागले भनेको छ, निर्णयको पूर्णपाठ केही समयपछि उपलब्ध हुनेछ। यससँगै अब क्यानले एनपिएलको दोस्रो संस्करणको तयारीमा कुनै कानुनी अड्चन नरहेको स्पष्ट भएको छ।
एनपिएलको तयारी तीव्र:
क्यानले दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुर्याएको छ। ८ टोली सहभागी हुने यस लिगमा खेलाडी रिटेन र रिलिज प्रक्रिया सकिएको छ। साथै, अक्सनको लागि खेलाडी दर्ता पनि खुला गरिएको छ। यो लिग नेपालको एक प्रमुख फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित हुँदै गएको छ।
जोरा स्पोर्ट्स म्यानेजमेन्टले एनपिएल ब्रान्डको पहिचान र अधिकार आफ्नो भएको दाबी गर्दै आएको थियो। उसले क्यानले ‘एनपिएल’ को नाम र लोगो आफ्नो अनुमति बिना प्रयोग गरेको भन्दै कानुनी उजुरी गरेको थियो। तर, उद्योग विभागले यो दाबीलाई आधारहीन ठहर गर्दै क्यानलाई अनुमति दिएको हो।
विवादको पृष्ठभूमि
एनपिएलको पहिलो संस्करण जोरा स्पोर्ट्सको आयोजनामा भएको थियो। तर, दोस्रो संस्करणदेखि क्यान आफैंले आयोजनाको नेतृत्व लिँदै आएको छ। यसैक्रममा ब्रान्ड र नामको अधिकार कसको भन्ने विषयमा विवाद उत्पन्न भएको थियो।
तर अब विभागको निर्णयपछि क्यानले लिग सञ्चालनमा पूर्ण स्वतन्त्रता पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का लागि यो निर्णय सकारात्मक उपलब्धि हो। अब उसले कानुनी अन्योल बिना एनपिएललाई अघि बढाउन सक्नेछ। एनपिएल लिग नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।