कतार, असार २९ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बाँकी जीवन देशको समर्पित सेवा र निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।
उज्यालो नेपाल अभियान लिएर कतार पुगेका घिसिङले दोहामा आयोजित “उज्यालो संवाद कार्यक्रम” मा प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय समर्पणको भावनात्मक घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, तपाईंहरूको जुन इच्छा, आकांक्षा मप्रति छ, त्यसअनुसार म अबको जीवन देश निर्माणका लागि तपाईंहरूकै साथमा अघि बढ्ने छु। उहाँले यो घोषणा गर्दा सहभागीहरूको तालीले हल गुञ्जायमान भएको थियो।
घिसिङले प्रवासी नेपालीहरूलाई देशसँग गहिरो भावनात्मक सम्बन्ध राख्न आग्रह गर्दै भने तपाईंहरू यहाँ बसेर पनि नेपाल सोच्नुस्, पार्टी होइन। व्यक्तिभन्दा माथि उठेर राष्ट्रलाई हेर्नुस्।
उनले थपे, नेपाल कसरी समृद्ध हुन्छ भन्ने सोच राख्नुपर्छ। पार्टीका आधारमा विभाजनमा होईन जुनसुकै पार्टी आए पनि राम्रो नेतृत्व र सही सोचको समर्थन गर्नुपर्छ।
कुलमान घिसिङले यसअघि पनि उज्यालो नेपाल अभियानअन्तर्गत बहराइन, युएई र ओमन भ्रमण गरिसकेका छन्। प्रवासी नेपालीहरू माझ जागरूकता फैलाउने उद्देश्यसहित उनले यो अभियान थालेका हुन्।
उनको नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त्य भएको ऊर्जा वितरण सुधारिएको र जनता बीच ऊर्जा क्रान्तिको आशा जागेको स्मरण गर्दै प्रवासी नेपालीहरूले घिसिङलाई आशाको दीप भनेर व्याख्या गरेका छन्।
कार्यक्रममा उनले प्रवासी नेपालीहरू विशेष गरी युवाहरूलाई देश विकासका अभियानहरूमा सहभागी हुन र सकारात्मक सोच बोकेर फर्किन आग्रह गरे। देशभित्र मात्रै होइन देशबाहिर रहेका तपाईंहरूको सोच र सहयोगले पनि नेपाल उज्यालो बन्न सक्छ घिसिङले भने।
कुनै पार्टी वा व्यक्तिको प्रभावमा नपर्न आग्रह गर्दै उनले राजनीतिक सोचमा भन्दा देशको समृद्धि र कार्यदक्षतामा ध्यान दिनुपर्ने बताए। देश हेर्नुस्, नीति हेर्नुस्, नियत हेर्नुस् व्यक्ति होइन उनले प्रस्ट पारे।
कुलमान घिसिङको प्रतिबद्धता व्यवहारमा देखिएको नेतृत्वको प्रतिबिम्ब हो। उज्यालो नेपाल अभियानले विदेशमा रहेका नेपालीहरूलाई पनि राष्ट्रिय विकासमा भावनात्मक रूपले जोड्न सक्ने संकेत दिएको छ।