साउन २६, २०८२।
काठमाडौं – दक्षिण कोरियामा सम्पन्न १०औं एमबिसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र २ कास्यसहित कुल ७ पदक जितेका छन्।
प्रतियोगिता ‘ए’ र ‘बी’ लिगमा विभाजित थियो।
‘ए’ लिगको सिनियर यू–३० व्यक्तिगत पुरुषतर्फ अस्मिन राउतले रजत पदक जिते भने महिलातर्फ निशा दर्नालले कास्य पदक हात पारिन्। यस्तै, अस्मिन र निशाको जोडीले जोडीगत स्पर्धामा पनि कास्य पदक जिते।
‘बी’ लिगको सिनियर व्यक्तिगत महिलातर्फ सिता तामाङ र पुरुषतर्फ अन्जन चौधरीले स्वर्ण पदक जिते। यी दुईले जोडीगत प्रतिस्पर्धामा समेत स्वर्ण पदक जित्दै दोहोरो सफलता हासिल गरे।
त्यसैगरी सिनियर व्यक्तिगत महिलातर्फ रमिला तामाङले रजत पदक जितिन्।
नेपालको तेक्वान्दो खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता र मेहनत पुनः प्रमाणित भएको प्रशिक्षक तथा खेल अधिकारीहरूले बताएका छन्। दक्षिण कोरियामा प्राप्त सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन अझ बलियो बन्ने विश्वास गरिएको छ ।