
साउन २५, २०८२।
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले अब नयाँ जर्सीसँगै नयाँ प्रायोजक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आइतबार जर्सी प्रायोजन सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार अब टिमको आधिकारिक जर्सीमा नासा सेक्युरिटिजको लोगो रहनेछ।
सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरेका छन्। कार्यक्रममा राखेप सदस्य–सचिव टंकलाल घिसिङ, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना, नासाका अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो।
क्यानका सचिव पारस खड्काले यो सम्झौता बिडिङ प्रक्रियाबाट सम्पन्न भएको जानकारी दिँदै तीन वर्षका लागि वार्षिक २ करोड ३६ लाख रुपैयाँको सम्झौता भएको बताए। उनले यसलाई नेपाली क्रिकेटको लागि ऐतिहासिक कदमको रूपमा वर्णन गरे।
सम्झौता घोषणासँगै नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो जसलाई उपस्थित अतिथिहरूले संयुक्त रूपमा अनावरण गरेका थिए। यस साझेदारीले नेपाली क्रिकेटको वित्तीय स्थायित्व र ब्रान्ड मूल्य वृद्धि गर्ने विश्वास गरिएको छ।