साउन २४, २०८२।
काठमाडौँ – यू–२० एएफसी एशिया कप छनोटमा नेपालले शुक्रबार साउदी अरेबियालाई १–० ले हराउँदै तीन महत्वपूर्ण अंक जोडेको छ । जितसँगै थाइल्यान्डमा हुने मुख्य प्रतियोगितामा पुग्ने नेपालको सम्भावना कायम रहेको छ।
दोस्रो हाफको इन्जुरी समय सुरु हुनै लाग्दा वैकल्पिक खेलाडी सुक्रिया मियाँले निर्णायक गोल गरिन् । खेलपछि प्रशिक्षक यामप्रसाद गुरुङले जितमा खुसी व्यक्त गरे तर प्रदर्शनमा भने असन्तोष जनाए ।
यस जितपछि नेपालको २ खेलबाट ४ अंक पुगेको छ । अब अन्तिम तथा कठिन खेल उत्तर कोरियाविरुद्ध हुनेछ । उत्तर कोरिया यू–२० स्तरमा तीनपल्टको विश्वकप र दुईपल्टको एशिया कप विजेता टोली हो । यसले यसअघि साउदीलाई १५–० र भुटानलाई १०–० ले हराएको छ ।
गुरुङले साउदीविरुद्ध पाँच खेलाडी परिवर्तन गर्दै नयाँ खेलाडीलाई मौका दिएका थिए । उनले खेलाडीहरू पहिलो पटक यो उमेर समूहको अन्तर्राष्ट्रिय मञ्चमा खेलिरहेका कारण कठिनाइ भएको बताएका छन् ।
यो जितले नेपाललाई समूह विजेता बन्ने वा उत्कृष्ट तीन उपविजेतामध्ये पर्नेको सम्भावना जीवित राखेको छ ।