Headlines

विश्व अर्बपती इलन मस्कले घोषणा गरे “द अमेरिका पार्टी” नयाँ दल

विश्व अर्बपती इलन मस्कले घोषणा गरे “द अमेरिका पार्टी” नयाँ दल

असार २२, २०८२ काठमाडौं दैनिक संवाददाता

काठमाडौँ – विश्व अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेसंगै अमेरिकामा राजनीतिक तरङ्ग पैदल भएको छ ।

फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ मस्कले एक्समा लेखेका छन् । तपाईंहरूलाई आफ्नो स्वतन्त्रा फिर्ता दिन “द अमेरिका पार्टी” गठन गरिएको छ ।

शुक्रबार ट्रम्पले कर कटौती र खर्च वृद्धिसम्बन्धी बिग ब्युटिफुल बिलमा हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दलसम्बन्धी घोषणा गरेका हुन् । उनले सो विधेयकको कडा आलोचना गर्दै आएका छन्।

शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले
“द अमेरिका पार्टी”को औपचारिक घोषणा गरेका हुन् । पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध चिसिदै गएपछि मस्कले आफ्नै नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

उनले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ ? मस्कले भन्ने एक्समा पोलसमेत गरेका थिए । सो सर्वेक्षणमा नयाँ दलका पक्षमा तेब्बर बढी समर्थन आएको उनको दाबी छ ।

यसैलाई लिएर ट्रम्पसँग उनको सम्बन्धमा फाटो आएको थियो। उक्त विधेयकले अमेरिकी बजेट घाटा २ ट्रिलियनबाट बढाएर २.५ ट्रिलियन पुर्‍याउने भन्दै मस्कले देशलाई ऋणमा डुबाउने खतरनाक निर्णय भनेका छन् ।

मस्कले सामाजिक सञ्जालको मत सर्वेक्षणका आधारमा अमेरिकामा नयाँ राजनीतिक दलको आवश्यकता रहेको जनाउँदै भनेका छन् २:१ को अनुपातमा तपाईंहरूले नयाँ दल चाहनुभएको छ र तपाईंहरूलाई अब त्यो उपलब्ध हुनेछ।

आफ्नो राजनीतिक पार्टीको नीति मुख्यतः खर्च नियन्त्रण र आर्थिक अनुशासनमा केन्द्रित हुने मस्कले जनाएका छन् । यद्यपि, पार्टीको पूर्ण घोषणापत्र भने उनले सार्वजनिक गरिसकेका छैनन्।

सन् २०२४ को निर्वाचनमा ट्रम्पका लागि अर्बौं डलर खर्च गरेका मस्कले ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डज) को प्रमुख भएर काम गरेका थिए । त्यसको उद्देश्य नै खर्च कटौती थियो । तर ‘बिग ब्युटिफुल बिल’ मा खर्च वृद्धिका व्यवस्था भएपछि उनी र ट्रम्पबीच विवाद बढेको बताइन्छ।

मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटहरूमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएका छन्। ट्रम्प पक्षबाट भने अहिलेसम्म मस्कको घोषणामा औपचारिक प्रतिक्रिया आएको छैन ।

तर केही दिनअघि राष्ट्रपति ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइएको संघीय अनुदान पुनरावलोकन गरिने चेतावनी दिएका थिए ।

कतिपय राजनीतिक विश्लेषकहरूले अमेरिकामा दुई दलीय प्रणाली विरुद्धको संघर्ष कठिन हुने औंल्याएका छन् । विगतमा रस पेरोटजस्ता अर्बपतिहरूले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका भए पनि खासै ठूलो प्रभाव कायम गर्न नसकेको सीएनएनको समाचारमा उल्लेख छ ।

मस्कजस्ता प्रभावशाली व्यक्ति र प्रविधि क्षेत्रमा भएको उनको पकडले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने विश्लेषण पनि भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *