भारतलाई चिनको चेतावनी: दलाई लामाको मामिलामा सावधानी अपनाउनू
असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता
भारत – तिब्बतका आध्यात्मिक गुरू दलाई लामाको उत्तराधिकारी चयनसम्बन्धी विषयमा भारतीय मन्त्री किरन रिजिजुले दिएको अभिव्यक्तिपछि चीन आक्रोशित बनेको छ। चीनले भारतलाई चेतावनी दिँदै तिब्बतसँग सम्बन्धित विषयमा सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतीय अल्पसंख्यक मामिला मन्त्री रिजिजुले हालै दिएको भनाइमा दलाई लामाको पुनर्जन्म र उत्तराधिकारी तोक्ने अधिकार केवल उनी स्वयं र उनीद्वारा स्थापन गरिएका संस्थामात्र हुने स्पष्ट पारेका थिए।
उनले भनेका थिए कुनै पनि अन्य देश वा निकायले दलाई लामाको उत्तराधिकारीबारे निर्णय गर्न सक्दैन। यो अधिकार केवल दलाई लामा वा उनको संस्था (गदेन फोद्राङ ट्रस्ट) सँग मात्र रहन्छ।
उनको यो अभिव्यक्तिसँग चीन सहमत छैन। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनेकी छन् भारतले दलाई लामाको पृथकतावादी स्वभावप्रति स्पष्ट रहनुपर्छ र तिब्बतसम्बन्धी प्रतिबद्धता पालन गर्नुपर्छ। चीनको दाबीअनुसार दलाई लामाको पुनर्जन्मसम्बन्धी प्रक्रिया ऐतिहासिक परम्परा, धार्मिक संस्कार, चिनियाँ कानुन तथा सरकारको अनुमोदन अनुसार मात्र हुनुपर्छ।
यस विषयमा भारतको परराष्ट्र मन्त्रालयले छुट्टै धारणा सार्वजनिक गर्दै भनेको छ भारत सरकारले धर्म र आस्थाका मामिलामा कुनै औपचारिक धारणा राख्दैन। मन्त्रालयले सबै धर्मको स्वतन्त्रता सुनिश्चित गर्ने भारतको परम्परा दोहोर्याएको छ।
तर मन्त्री रिजिजु स्वयम् बौद्ध धर्मावलम्बी भएको र आगामी जुलाई ७ मा दलाई लामाको ९०औं जन्मोत्सवमा सहभागी हुन धर्मशालातर्फ जाने तयारीमा रहेको बताइएको छ।
त्यस अवसरमा भारत सरकारको तर्फबाट उनी र मन्त्री राजीव रञ्जन सिंह सहभागी हुँदैछन्।
चीनका अनुसार हालका १४औं दलाई लामा समेत ऐतिहासिक ‘गोल्डेन अर्न’ प्रणाली र केन्द्र सरकारको अनुमोदनबाट छनोट गरिएका थिए। त्यसैले आगामी पुनर्जन्म पनि त्यही ऐतिहासिक प्रक्रिया अनुसार हुनु जरुरी भएको चीनको तर्क छ।
चीनले दलाई लामालाई पृथकतावादी चरित्रको नेताको रुपमा व्याख्या गर्दै आएको छ। सन् १९५९ मा चिनियाँ शासनविरुद्धको असफल विद्रोपछि दलाई लामा भारत आएका थिए र त्यसयता भारतमै निर्वासित जीवन बिताइरहेका छन्।
उनले हालै दिएको एक अन्तर्वार्तामा भनेका छन् कि मृत्युपछि पुनर्जन्म लिने छन् र त्यो पुनर्जन्म चीनभन्दा बाहिर हुने सम्भावना रहेको छ। साथै पुनर्जन्मको पहिचानको अधिकार गदेन फोद्राङ ट्रस्टसँग मात्र रहने उनले दोहोर्याएका छन्।
दुई देशबीचको सम्बन्ध सन् २०२० मा गालवान उपत्यकाको सिमा क्षेत्रमा भएको घातक झडपपछि अत्यन्त चिसिएको थियो। यद्यपि पछिल्लो वर्ष रुसको काजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटघाट भएपछि सम्बन्ध सुधारतर्फ लम्केको देखिएको छ।
त्यसपश्चात उच्चस्तरीय वार्ताहरू पनि भएका छन्। यस्तै हालै मात्रै पुन आरम्भ गरिएको कैलाश मानसरोवर यात्रा पनि दुई देशबीचको सम्बन्ध सुधारतर्फ एक कदमको रुपमा हेरिएको छ।
दलाई लामाको उत्तराधिकारी चयनप्रति भारत र चीनबीचको दृष्टिकोण निकै फरक देखिएको छ। भारतले व्यक्तिगत आस्था र धार्मिक स्वतन्त्रताको पक्षपोषण गर्दै आएको छ भने चीन यसलाई राजनीतिक र राष्ट्रिय अखण्डताको विषयको रूपमा हेरिरहेको छ।
किरन रिजिजुको भनाइले दुई देशबीचको संवेदनशील सम्बन्धमा पुन एकचोटि तरंग ल्याएको स्पष्ट देखिएको छ ।