Headlines

नेपाल “एपीएफ” महिला क्लब साउदी अरेबियाको अल नासरसँग खेल्दै

नेपाल “एपीएफ” महिला क्लब साउदी अरेबियासंग खेल्ने

 

असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता

काठमाडौ- नेपाली महिला क्लब फुटबलको प्रतिनिधि संस्था एपीएफ क्लबले पुन एकपटक अन्तर्राष्ट्रिय मैदानमा आफ्नो उपस्थिति जनाउने तयारी गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको प्रतिष्ठित प्रतियोगिता महिला च्याम्पियन्स लिग को प्रारम्भिक चरणमा एपीएफले साउदी अरेबियाको अल नासर क्लब सँग भिड्न लागेको हो।

एएफसीले सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह बी मा परेको छ, जहाँ उसले अल नासरसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स सँग पनि प्रतिस्पर्धा गर्नेछ। समूह चरणका खेलहरू आउँदो अगस्ट महिनामा आयोजना गरिने एएफसीले जानकारी दिएको छ ।

नेपालको राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लब यो पटक लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगमा भाग लिन लागेको हो। गत संस्करणमा एपीएफले मलेसियाको सबाह र उज्वेकिस्तानकै नासाफसँग खेलेको थियो। तर परिणाम भने सकारात्मक आउन सकेन । एपीएफ नासाफसँग १-० ले पराजित भएको थियो।

यस वर्षको प्रारम्भिक चरणमा १९ टिम सहभागी हुनेछन्। तीमध्ये चार समूहमा चार टिम र एक समूहमा तीन टिम रहनेछन्। समूह विजेता मात्र अर्को चरण मुख्य चरणमा प्रवेश पाउनेछन्।

यसअघि नै ६ टोली मुख्य चरणमा प्रवेश गरिसकेका छन् भने संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक टोली थपिनेछ।
मुख्य चरणमा १२ टोली रहने छन् जसलाई तीन समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ।

एपीएफको लगातार दोस्रो सहभागिता नेपाली महिला फुटबल क्लबको लागि गौरवको विषय बनेको छ। हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला क्लबहरूलाई गम्भीर रूपमा प्रतिनिधित्व गर्ने अवसर सीमित रहे पनि एपीएफले त्यस अन्तरलाई क्रमश तोड्दै गएको देखिन्छ।

यो सहभागिता नेपाली महिला फुटबल खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव र आत्मविश्वास निर्माणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

साउदी क्लब अल नासरसँगको खेल एपीएफका लागि निर्णायक हुन सक्छ। यस खेलमा विजय हासिल गरेमा समूह चरण पार गर्ने सम्भावना बलियो बन्नेछ। अल नासर साउदी फुटबलमा स्तरीय क्लब हो ।

साथै पीएफसी नासाफ र कलेज अफ एसियन स्कोलार्सजस्ता टोलीहरूसँगको प्रतिस्पर्धा पनि कठिन हुनेछ। तर एपीएफले नेपालको लागि इतिहास रच्ने लक्ष्य सहित रणनीति बनाएको बताएको छ ।

महिला खेलाडीहरूका लागि यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आत्मबल र भविष्यको अवसरको ढोका बन्न सक्छ।
यो अनुभव उनीहरूको भविष्यका लागि महत्त्वपूर्ण अवसर हुनेछ चाहे क्लब, राष्ट्रिय वा विदेशी लिगका अवसरहरू हुन्।

एपीएफ क्लबको प्रदर्शनले नेपाली महिला फुटबलको हैसियतलाई एसियाली स्तरमा नयाँ परिभाषा दिन सक्छ। प्रशंसकको साथ, रणनीतिक योजना र सकारात्मक सोचका साथ मैदान भित्र यो यात्राले नयाँ इतिहास कोर्न सक्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *