
साउन २०, २०८२।
काठमाडौं – नेपाली वादोरियो कराते टोली आगामी पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन श्रीलंकातर्फ प्रस्थान गर्ने भएको छ। आगामी अगष्ट ७ र ८ मा श्रीलंकाको रत्नापुरा शहरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन ७ सदस्यीय नेपाली टोली बुधबार प्रस्थान गर्ने तयारीमा छ।
टोलीमा ५ जना खेलाडी र २ जना अफिसियल छन्। पुरुषतर्फ ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ भने ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले नेपालको प्रतिनिधित्व गर्नेछन्।
टोलीको नेतृत्व नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले प्रमुख प्रशिक्षकका रूपमा गर्दै छन् भने राजकुमार कार्की अफिसियलको रूपमा सहभागी छन्।
खेलाडीहरूलाई मंगलबार पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वादोरियो कराते टोलीले विगतमा देखाएको उत्कृष्ट प्रदर्शनको स्मरण गर्दै यसपटक पनि पदक जित्ने विश्वास व्यक्त गरे। उनले टोलीलाई सफलताको शुभकामना पनि दिए।
नेपालमा वादोरियो करातेले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाउँदै आएको छ। यसपटक पनि टोलीमा समावेश युवा खेलाडीहरू प्रतिस्पर्धात्मक आत्मविश्वासका साथ श्रीलंका जान लागेका छन्।
टोलीमा समावेश युवा खेलाडीहरूको उमेर, ऊर्जा र उत्साहले नेपाली करातेको भविष्य उज्ज्वल देखिएको छ। यस किसिमको सहभागिताले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिने मात्र होइन, राष्ट्रिय स्तरमा कराते खेलप्रति जनचासो र प्रेरणा समेत थप्ने अपेक्षा गरिएको छ।