Headlines

फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ

‘फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ के भने?

असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौँ – नेपाली राजनीतिमा बहस र आरोपको नयाँ अध्याय खुलेको छ। सत्तारूढ नेपाली कांग्रेसभित्र चलिरहेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीचको विवादले राजनीतिक र नैतिक तहमा गम्भीर बहस जन्माएको छ।

टेरामक्स प्रकरणमा मुछिएका बस्नेतले सार्वजनिक रूपमा थापामाथि आरोप लगाएपछि थापाले त्यसको जवाफ ‘फोहोर’ शब्दमा दिएका छन्। उनका शब्द छन् ‘फोहोर चलाएर म पनि फोहोरी बन्दिनँ। यो कथन नेपाली राजनीतिमा विशेष ध्यान खिच्ने अभिव्यक्तिको रूपमा उभिएको छ।

पूर्व सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेत टेरामक्स कन्सल्टेन्सी प्रकरणमा अख्तियारको अनुसन्धानमा मुछिएका छन्। यिनै बस्नेतले पार्टी बैठकमा महामन्त्री गगन थापालाई संसद्‌मा बोलेको अभिव्यक्तिका कारण आफूविरुद्ध मुद्दा लागेको आरोप लगाए। यस क्रममा उनले गालीगलौज, अपमानजनक भाषा र धम्कीकै शैलीमा थापामाथि बोल्ने प्रयास गरेका थिए।

बस्नेतले आफू बिना आधार दोषी करार गरिएको र थापाको ‘राजनीतिक नाटक’ का कारण आफूमाथि मुद्दा चलेको आरोप लगाएपछि, बैठक तातिएको थियो।

थापाले आरोपको प्रतिवादभन्दा पनि त्यसको शैलीमै घोर आपत्ति जनाउँदै भने बाले भन्नुहुन्थ्यो कसैले आरोप लगाए जवाफ दिइ हाल्नुपर्छ । र आमाले भन्नुहुन्थ्यो फोहोर नचलाउनु फोहोर चलाए आफैं फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।

उनको यो अभिव्यक्ति राजनीतिमा विवादसँग जुद्ने परिपक्व र गम्भीर शैलीको एउटा उदाहरण बनेको छ। थापाले आरोपको विश्लेषण गर्नुको सट्टा नैतिक उचाइबाट आफूलाई अलग राखे।

बस्नेतलाई टेरामक्स प्रकरणमा विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। यद्यपि अदालतको निर्णयले उनी निर्दोष भएको प्रमाणित भने गर्दैन। सार्वजनिक संस्थानको परामर्शदाता नियुक्तिमा अनियमितता भएको आशंकामा टेरामक्स कन्सल्टेन्सीमाथि छानबिन भइरहेको छ। र बस्नेतको भूमिका यसमा ‘प्रश्न उठाउने खालको’ भएको देखिन्छ।

गगन थापा र बस्नेतबीचको यो विवाद कांग्रेसको गहिरो खाडल हो भन्ने बुझ्न गाह्रो छैन। महामन्त्री थापा पार्टीभित्रको सुधारवादी धारका प्रखर प्रतिनिधि हुन् भने बस्नेत संस्थापन पक्षसँग नजिक मानिन्छन्।

कांग्रेस केन्द्रीय समितिको बैठक जसको उद्देश्य तरुण दलको महाधिवेशन, सरकारको कामप्रति मूल्याङ्कन र आन्तरिक तयारी थियो अन्तत व्यक्तिगत आरोप र दलभित्रको नैतिकतामाथि प्रश्न उठाउने मञ्चमा परिणत भयो।

महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई सार्वजनिक रूपमा आह्वान गर्दै भने मेरो अनुपस्थितिमा केन्द्रीय बैठकमा कसैले धम्की दिएर अपमानजनक व्यवहार देखाउने प्रवृत्तिलाई तपाईंले सम्हाल्नुहुन्छ कि समयले सम्हाल्नेछ?

उनको यो प्रश्न सिधा देउवाको नेतृत्व र पार्टीभित्रको अनुशासनमाथि थियो।

गगन थापा लामो समयदेखि राष्ट्रहितका मुद्दा, पारदर्शिता र उत्तरदायित्वको पक्षमा खुला रूपमा उभिँदै आएका नेता हुन्। संसद्‌भित्र होस् या बाहिर उनका अभिव्यक्ति गम्भीर, स्पष्ट र तर्कसंगत हुने गरेको छ। तर उनीप्रति पार्टीभित्रैबाट सार्वजनिक रूपमा यसरी आक्रोश प्रकट हुनु दुर्भाग्यपूर्ण मानिएको छ।

बस्नेतको आक्रोशपूर्ण व्यवहारको राजनीतिक विश्लेषण गर्ने हो भने यो उनको व्यक्तिगत र कानुनी संकटले उत्पन्न मानसिक तनावको नतिजा हो भन्न सकिन्छ।

कांग्रेसले लामो समयदेखि भोग्दै आएको आन्तरिक अनुशासन, गुटगत असहमति र असन्तुलित संवाद शैली आज फेरि उजागर भएको छ। जब एउटा पार्टीका महामन्त्री र अर्का एक पूर्वमन्त्री खुला विवादमा उत्रिन्छन् तब त्यो पार्टीको सांगठनिक संरचना र नेतृत्व क्षमतामाथि प्रश्न उठ्छ।

पार्टीभित्र सार्वजनिक जिम्मेवार पदमा रहेका व्यक्तिहरूको आचरण र बोली व्यवहारमा संयमता अपेक्षित हुन्छ। तर बस्नेतको अशिष्ट शैलीले पार्टीकै छवि धमिलो बनाएको विश्लेषकहरूको धारणा छ।

राजनीतिमा बहस, मतभेद र आलोचना स्वाभाविक प्रक्रिया हुन्। तर ती प्रक्रिया सभ्य, संयमित र तथ्यपरक हुनुपर्ने हुन्छ। गाली, धम्की र लाञ्छना राजनीतिमा पतनको संकेत मानिन्छ। कांग्रेसको हालको प्रकरणले नेपाली राजनीतिक संस्कृतिको नैतिक मापदण्डबारे गम्भीर पुनर्विचार गर्नुपर्ने अवस्था खडा गरेको छ ।

नेता थापाले भनेजस्तै फोहोर चलाएर फोहोरी बन्न चाहन्न। यो केवल एक राजनीतिक जवाफ मात्र होइन राजनीतिमा सभ्यताको आग्रह पनि हो। अहिलेको अवस्थामा राजनीतिज्ञहरूलाई शक्ति, सम्मान र बहसको सीमामा बस्न सिकाउने उदाहरण पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *