Headlines

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल पुनः गोलको वर्षाको अपेक्षा

असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता

एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज दोस्रो खेल खेल्दैछ। विपक्षी टोली दक्षिण एसियाकै प्रतिद्वन्द्वी श्रीलंका रहेको यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे उज्बेकिस्तानमा हुनेछ।

पहिलो खेलमा लाओसविरुद्ध ९–० को ऐतिहासिक जित निकाल्दै आत्मविश्वासको शिखरमा पुगेको नेपाली टोली श्रीलंकासँगको खेलमा पनि गोलको वर्षा दोहोर्याउने लक्ष्यमा देखिन्छ। श्रीलंकाले भने पहिलो खेलमा आयोजक उज्बेकिस्तानसँग १०–० को अपमानजनक हार व्यहोरेको थियो।

नेपाल र श्रीलंका महिला फुटबलमा अहिलेसम्म ८ पटक आमनेसामने भइसकेका छन् र सबै खेलमा नेपाल विजयी बनेको छ। त्यो मात्र होइन फिफा वरीयतामा पनि नेपाल १००औं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ।

आजको खेलमा नेपालको लक्ष्य जित मात्रै नभई ठुलो गोल अन्तरले जित्नु हो जसले समूहबाट छनोटको सम्भावनालाई बलियो बनाउनेछ।

लाओससँगको खेलमा नेपाली टोलीले पक्कै पनि इतिहास रच्यो। कप्तानको जिम्मेवारी पाएकी सावित्रा भण्डारी (साम्बा) ले एक्लैले ५ गोल गर्दा अनिता बस्नेत, अनिता केसी, रश्मिकुमारी घिसिङ र सरु लिम्बुले एक-एक गोल गरे।

कुल ९ गोल, ७ फरक स्कोरर यो आँकडा मात्रै नभई टोलीको सामूहिक लयको प्रमाण थियो।

नेपाली टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डी वाइल्डका लागि यो दोस्रो अन्तर्राष्ट्रिय खेल हुनेछ। पहिलो खेलमा उनले कप्तानसहित नियमित प्लेइङ इलेभेनमा व्यापक फेरबदल गरे।

गोलकिपर अन्जना राना मगरलाई पहिलो रोजाइमा ल्याउँदै उनले रेखा पौडेल, पूजा राना, विमला विकजस्ता अनुभवी खेलाडीलाई बेन्चमा राखेका थिए।

आजको खेलमा प्याट्रिकले कसलाई पहिलो रोजाइमा राख्ने हुन् त्यो पनि चासोको विषय बनेको छ। श्रीलंकाविरुद्ध पुनः फराकिलो जित निकाल्न उनले आक्रामक रणनीति अपनाउने अपेक्षा गरिएको छ।

समूह ‘एफ’ मा उज्बेकिस्तान र नेपाल दुवैको समान ३–३ अंक छ। उज्बेकिस्तानले श्रीलंकालाई १०–० ले हराउँदै गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ।

लाओस र श्रीलंका दुवै टोली पहिलो खेलमा पराजित भइसकेका छन्। यस समूहबाट शीर्ष स्थान प्राप्त टोली मात्र अर्को चरणका लागि छनोट हुनेछ। त्यसैले प्रत्येक खेलमा गोल अन्तरको महत्त्वपूर्ण भुमिका रहने छ ।

नेपालका लागि आजको लक्ष्य केवल जित मात्र होइन उज्बेकिस्तानको जति वा बढी गोल अन्तरको जित पनि हो। किनभने अन्तिम खेल नेपालले उज्बेकिस्तानसँगै खेल्नेछ जहाँ नतिजा बराबरी भएमा गोल अन्तर नै निर्णायक बन्न सक्छ।

खेलअगावै आधिकारिक जानकारी नआएको भए पनि सावित्रा भण्डारीको कप्तानी कायम रहने प्रबल सम्भावना छ। साथमा अनिता बस्नेत, रश्मिकुमारी घिसिङ, सरु लिम्बु, सुस्मिता राना, अमृता जैशी लगायतका खेलाडीहरूको उपस्थिति अपेक्षित छ।

रक्षा पंक्तिमा रेखा पौडेल, पूजा राना, विमला विकजस्ता अनुभवी खेलाडीलाई आजको खेलमा मौका दिन सक्ने सम्भावना पनि छ।

पहिलो खेलमा १० गोलले पराजित भएको श्रीलंकाको मनोबल कमजोर देखिन्छ। तर दोस्रो खेलमा सुधार गर्ने प्रयास गर्नसक्ने भएकाले नेपालका लागि खेल सजिलो मात्र हो भन्ने मनसाय खतरनाक हुन सक्छ।

श्रीलंकाले सन् २०१९ पछि धेरै अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन र टोलीमा युवा खेलाडीहरूको उच्च सहभागिता रहेको छ।

नेपालका लागि यो खेल समूहको समीकरणमा निर्णायक दबाब बनाउने अवसर हो। समान अंक भएको अवस्थामा गोल अन्तर निर्णायक बन्ने भएकाले सावित्रा भण्डारी नेतृत्वको टोलीले आज पुनः गोलको उत्सव दोहोर्याउने रणनीति बनाएको छ।

प्रशिक्षक प्याट्रिकको रणनीति र खेलाडीको आत्मबल मिलेर नेपालको अर्को जितको ढोका खोल्नेछ भन्ने प्रश्नको उत्तर प्रतीक्षा गरौं, आज साँझ ६:१५ पछि नै खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *