साउन १९, २०८२।
काठमाडौं – काठमाडौं: नेपालका लागि दूरसञ्चार क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै एनसेल देशको पहिलो यस्तो टेलिकम कम्पनी बनेको छ, जसले भ्वाइस ओभर लङ टर्म इभोल्युसन (VoLTE) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी नेपाल बाहिर जाने ग्राहक र नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको।
एनसेलले एयरटेल भारतसँगको सहकार्यमा सोमबारदेखि भारतका लागि आउटबाउन्ड VoLTE रोमिङ सेवा सुरु गरेको छ। यसअन्तर्गत, अब एनसेलका ग्राहकहरूले भारतमा पनि उच्च गुणस्तरीय एचडी भ्वाइस कल र छिटो डेटा कनेक्टिभिटी को सेवा लिन सक्नेछन्।
एनसेलले यसअघि पनि विभिन्न देशका आगन्तुक पर्यटकहरूका लागि इनबाउन्ड VoLTE रोमिङ सेवा उपलब्ध गराउँदै आएको थियो। अहिले थप अन्तर्राष्ट्रिय टेलिकम कम्पनीहरूसँग परीक्षण भइरहेको जानकारी दिइएको छ। तीमध्ये अमेरिका, जापान, चीन, र क्यानडाका प्रमुख सेवा प्रदायकहरू समेत छन्।
भोल्टे सेवा फोरजी नेटवर्कमा आधारित एक नवीनतम प्रविधि हो, जसले कल गर्दा छिटो कनेक्ट हुने र उत्तम ध्वनि गुणस्तर प्रदान गर्छ। यसले यात्राका क्रममा पनि प्रयोगकर्तालाई आफ्ना परिवार, साथीभाइ र व्यवसायसँग सधैं सम्पर्कमा राख्न मद्दत पुर्याउने एनसेलको विश्वास छ।
सेवा प्रयोग भइरहेका प्रमुख देशहरू:
इनबाउन्ड VoLTE रोमिङ: भारत (एयरटेल, जियो), चीन (चाइना मोबाइल), कुवेत (ओरेडू), साउदी अरेबिया (मोबिली), अमेरिका (AT&T), भियतनाम (भियटेल)
आउटबाउन्ड परीक्षणमा रहेका देशहरू: भारत (भोडाफोन), अमेरिका (T-Mobile, Verizon), जापान (Softbank, NTT Docomo), चीन (चाइना युनिकम), क्यानडा (Bell, Telus)
हाम्रो प्रयास भनेको आफ्ना ग्राहकहरूलाई विश्वस्तरको दूरसञ्चार सेवा प्रदान गर्नु हो। एयरटेलसँगको सहकार्यले भारत यात्रामा जानेहरूलाई थप सहज र स्पष्ट सेवा प्रदान गर्नेछ, एनसेलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।