साउन १९, २०८२।
काठमाडौं – नेपाली खेलकुद पत्रकारितामा एक दशकको सफल यात्रा पूरा गरेको अनलाइन खेल मिडिया ‘हाम्रो खेलकुद’ले आफ्नो दसौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमार्फत् ‘वर्ष खेलाडी अवार्ड’ वितरण गरेको छ।
यस वर्षको अवार्ड उत्कृष्ट प्रदर्शन गर्ने दुई प्रतिभाशाली खेलाडी—पारा तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठ र कराते खेलाडी विजय सिन्जालीलाई प्रदान गरिएको हो।
दुवै खेलाडीलाई नगद पुरस्कारसहित सम्मान प्रदान गर्दै नेपाली खेलकुदमा उनीहरूको योगदानको उच्च प्रशंसा गरिएको थियो।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे। उनले हालै सम्पन्न तेस्रो थाउलो विश्वकपमा कास्य पदक जितेर नेपालको गौरव बढाएकी थिइन्।
पलेशाले २५ हजार रुपैयाँ राशिको नगद पुरस्कार पनि प्राप्त गरिन्। साथै, पलेशालाई उच्च स्तरको खेलाडी बनाउने प्रशिक्षक कविराज नेगी लामालाई पनि समारोहमा विशेष सम्मान प्रदान गरियो।
पुरुष तर्फको अवार्ड कराते खेलाडी विजय सिन्जालीले प्राप्त गरे। उनलाई पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अवार्ड तथा २५ हजार रुपैयाँ राशिको नगद पुरस्कार प्रदान गरे। विजयले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउँदै आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्।
‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ शीर्षकको सेसनमा वरिष्ठ खेल पत्रकार सरिता श्रेष्ठले मोडरेशन गरिन्। यसमा तेक्वान्दोकी आयशा शाक्य, फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा), भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी एरिका गुरुङले आ–आफ्ना अनुभव साझा गरे।
‘नेपाली खेलकुदमा युवा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकको दोस्रो सेसनमा सम्पादक प्रकाश तिमल्सिनाले मोडरेट गरे। सहभागी वक्ताहरूमा पूर्व मन्त्री विराजभक्त श्रेष्ठ, क्यानका सचिव पारस खड्का, फुटबल संघ अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकाल थिए।