साउन १९, २०८२।
रियाद – साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकप २०२५ मा नेपालकाे प्रतिनिधित्व गरिरहेको ‘होरा इस्पोर्ट्स’ टिमले विश्वकपको नवौं स्थान हासिल गर्दै डेढ करोड रुपैयाँभन्दा बढी नगद पुरस्कार जितेको छ।
१८ खेलको फाइनल चरणमा १०० अंक जोड्दै होरा इस्पोर्ट्सले अन्तिम खेलमा चिकेन डिनर जित्दै आफ्नो प्रदर्शनलाई सशक्त बनायो। होराले यस प्रतिस्पर्धाबाट १ लाख २७ हजार ५०० अमेरिकी डलर (नेपाली रूपैयाँमा झण्डै १ करोड ७८ लाख ९७ हजार) जित्न सफल भएको छ।
ग्रुप स्टेज – १३औं स्थानसहित $27,500
सर्भाइभल स्टेज – २ चिकेन डिनरसहित $25,000
शो म्याच – $15,000
फाइनल नवौं स्थान – $60,000
जम्मा पुरस्कार रकम = $127,500
ग्रुप स्टेजमा १३औं स्थानमा रहेकाले होराले सिधा फाइनलको टिकट पाएको थिएन। त्यसपछि सर्भाइभल स्टेजमा शानदार प्रदर्शन गर्दै १२ खेलमा २ चिकेन डिनरसहित १०८ अंक जोड्दै फाइनल चरणमा प्रवेश गरेको थियो।
सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शनले नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक उजागर गराएको छ। यससँगै नेपालबाट प्रतिस्पर्धामा सहभागी भएको ‘होरा’ इस्पोर्ट्स टोलीले नेपाली गेमिङ समुदायमा गर्विलो उपस्थिति जनायो।
पब्जी मोबाइल विश्वकप २०२५ को उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्स (Y.G Esports) ले जित्यो।