असार १६, २०८२ । काठमाडौं दैनिक
मलावीकी घरेलु कामदार सुजाना कथुम्बा अहिले ८०,००० क्वाचा (अन्दाजी ४६ अमेरिकी डलर) मासिक तलबमा आफ्नो चार सन्तानलाई पाल्दैछिन्। तर हालको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण उनी जस्तै आम जनताको जीवन दिनदिनै कठिन बन्दै गएको छ।
४३ वर्षीया कथुम्बा भन्छिन् मैले साना छोराछोरीलाई बढी फोहर नगर्न भनेकी छु ताकि साबुनको खर्च घटोस। तर के गर्नु? बच्चा त बच्चा नै हो खेल्न त मन लाग्छ।
कथुम्बा अहिले राजधानी लिलङ्गवेमा काम गर्छिन् तर उनको परिवार १३० किलोमिटर टाढा कसुंगुमा बस्छ। दुई सन्तान स्कुल पढ्दैछन् भने दुईजना बेरोजगार छन्। एउटै तलबले स्कूल फी, कापी, खाना, साबुन आदि सबै जोहो गर्नुपर्दा उनीसँग महिनाको अन्तिममा शून्य बचत हुन्छ।
उनले भनिन् एक टर्मको स्कूल फीमै ५०,००० क्वाचा जान्छ। अहिले त १ किलो चिनी पनि ४,५०० क्वाचा पर्छ।
मलावीको मुद्रास्फीति दर मे महिनामा २७.७% थियो। अप्रिलमा यो दर २९.२% थियो। यो अफ्रिकाकै उच्च मुद्रास्फीतिमध्ये एक हो।
कथुम्बा जस्ता घरेलु श्रमिक मात्र होइन व्यवसायीहरू पनि मारमा परेका छन्। ट्सोका फ्ली मार्केटका अध्यक्ष स्टिभ मगोम्बो भन्छन् मान्छेहरूले हाम्रा सामान किन्न सक्दैनन् हामी नाफा लिन असमर्थ छौं।
देशमा डलर (विदेशी मुद्रा) को अभाव छ। बैंकमा डलर उपलब्ध नभएपछि व्यापारीहरू कालो बजारमा १ अमेरिकी डलरको लागि ४,०००–५,००० क्वाचासम्म तिर्छन् जुन सरकारद्वारा तोकिएको १,७५० क्वाचाभन्दा धेरै हो।
राजधानी लिलङ्गवेका स्टेसनरी पसल व्यवसायी मोहम्मद हानीफ वाका भन्छन् हामीले सामानको मूल्य बढाउनु परेको छ। ग्राहक घटेका छन् र कर्मचारीहरू हटाउनु परेको छ।
उनी भन्छन्, “डलर नपाएपछि आयात गर्न सक्दैनौं, अहिले त स्थानीय सामग्रीमै निर्भर भइरहेका छौं ।
मलावीले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सँग गरेको १७५ मिलियन डलरको ऋण सम्झौता अस्थायी रूपमा रोकिएको छ। सरकारले कार्यक्रमका सर्तहरू असहज भएको भन्दै आफैंले रोक लगाएको जनाएको छ।
मलावीका अर्थमन्त्री सिम्प्लेक्स बान्डा भन्छन् हामीलाई भनियो विदेशी मुद्रा सञ्चित गर्नुहोस् तर हामीसँग पेट्रोल नै छैन। हामीले पेट्रोल ल्याउनु प्राथमिकता मान्यौं।
अर्थशास्त्रीहरू भन्छन्, मलावीले महँगा सामान (साल, औषधि, मल) आयात गर्छ तर निर्यात वस्तुहरू सस्तो (मकै, सोयाबिन, चिनी) छन्। यसले विदेशी मुद्रा सन्तुलन विगारेको हो।
सेप्टेम्बरमा चुनाव हुँदैछ। अहिले सरकारले केही सुधारका योजना ल्याउने बताएको छ। वाणिज्य मन्त्री भिटुम्बिको मुम्बाले व्यापारीहरूलाई मूल्य नियन्त्रण गर्न अपिल गर्दै आवश्यक सामग्रीका लागि सरकारी बैंकबाट डलर पाउने व्यवस्था बनाइएको बताएका छन्।
तर विपक्षीहरूले महँगीको दोष सत्तामा रहेका नेताहरूलाई दिएका छन्। कथुम्बा भन्छिन् सरकारमै हाम्रो भर छ। मलाई आशा छ नेताहरूले गरीब मलावियालीलाई सम्झेर निर्णय लिन्छन्।
मलावीमा दैनिक जीवन अत्यन्तै कठिन बन्दै गएको छ। कम तलब, अत्यधिक महँगी, डलर अभाव र अस्थिर अर्थतन्त्रले गर्दा सुजाना कथुम्बाजस्ता आम नागरिकहरू बाँच्न पनि संघर्ष गरिरहेका छन्। यी समस्या चुनावको मुख्य मुद्दा बन्न थालेका छन् तर गरीब नागरिकहरूको आशा अझै सरकारतर्फै छ।
BBC, Lilongwe र Londonबाट रिपोर्टिङ