काठमाडौं, साउन १२ – “सर, म साँच्चीकै डाक्टर बनेँ नि!” यो संवाद कुनै फिल्मको होइन यथार्थ जीवनको एउटा अत्यन्त प्रेरणादायी क्षण हो। ११ वर्ष ४ महिना २० दिनअघि ‘डाक्टर बन्छु’ भनेर सपना देख्ने दिपेश सापकोटा आज साँच्चै डाक्टर बनेर उही शिक्षकको कार्यकक्षमा स्टेथेस्कोप देखाउँदै उभिएका छन्।
नवलपरासीको समता स्कुल, कावासोतीमा सात कक्षामा पढ्दादेखि नै उनले डाक्टर बन्ने लक्ष्य लिएका थिए। निम्न मध्यम वर्गीय परिवारमा हुर्किए पनि उनी पढाइमा सधैं अब्बल रहे। स्कूल जीवनमा छात्रवृत्तिको भरमा अध्ययन अगाडि बढाउँदै गैंडाकोटको नमुना कलेजबाट प्लस टु र पछि जनकपुरस्थित जानकी मेडिकल कलेजबाट एमबिबिएस पास गरे।
आज उनी काठमाडौंको समता अस्पताल (बौद्ध) र भेनस अस्पताल (बानेश्वर) मा सेवा गरिरहेका छन्। जहाँ कहिले १०० रुपैंयाँ स्कुल शुल्क तिर्दै पढेका थिए, त्यही संस्था अन्ततः उनको कार्यस्थलसमेत बन्यो। ‘समता स्कुल’का एक असल प्रतिनिधिका रूपमा उनी नाफा भन्दा सेवा भावमा अग्रसर छन्।
दिपेशको यात्रा केवल एक व्यक्तिको सफलताको कथा होइन, यो नेपालका हजारौं निम्न आयस्तरका परिवारका लागि आशा र सम्भावनाको संकेत हो। सीमित स्रोतसाधनका बाबजुद पनि अथक मेहनत र लक्ष्यप्रतिको अडानले कसरी सफलता सम्भव छ भन्ने उनले प्रमाणित गरेका छन्।
उनको आगामी लक्ष्य न्युरो विशेषज्ञ बन्ने रहेको छ। “आर्थिक जोहो भयो भने नेपालमै बसेर न्यूरोको सेवा दिन चाहन्छु, उनले भनेका छन्। देशभित्रै सेवा दिने मनोवृत्तिले उनको सोचलाई अझ प्रशंसनीय बनाएको छ।
तर प्रश्न उठ्छ? के डा. दिपेशजस्ता युवा नेपालमै टिक्न सक्लान्? वा राजनीति, अर्थतन्त्र र पारिवारिक बाध्यताले विदेशिन बाध्य हुनेछन्? यो प्रश्न आजको युवापुस्तासँग जोडिएको सबैभन्दा ठूलो चिन्ता हो।
दिपेशको कथा नेपालको शिक्षा प्रणाली, छात्रवृत्तिको प्रभाव, निजी संस्थाको सामाजिक उत्तरदायित्व र एउटा शिक्षकको प्रेरणाको पनि कथन हो। समता स्कुलले १०० रुपैंयाँ मासिक शुल्कमा शिक्षा दिएर समाजमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने दृष्टान्त पेश गरेको छ।
डा. दिपेश सापकोटाको जीवन यात्रा एउटा सन्देश हो सपना देख्नलाई ठूलो सुविधा चाहिँदैन, दृढ निश्चय, परिश्रम र सही मार्गनिर्देशनले नै सम्भावनालाई यथार्थमा बदल्न सकिन्छ।