
भदौ २७, २०८२।
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जनाएका छन्। तर संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन।
शीतल निवासमा बिहीबार राति देखि शुक्रबार बिहानसम्म चलेको बैठकमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थितिमा लामो छलफल भएको थियो। बैठकमा अन्तरिम सरकार गठनमा सहमति भए पनि संसद् विघटनबारे संविधानिक जटिलता देखिएको सहभागी अधिकारीहरूले बताएका छन्।
भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री हुने तय भएको हो ।
बिहीबार रातिदेखि शीतल निवासमा सुरु छलफल शुक्रबार बिहान उज्यालो हुने बेलासम्मै चलेको थियो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीसहित सफल कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए ।
नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख देवराज घिमिरे र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए ।
कोहीसँग टेलिफोनमा त कोहीसँग राष्ट्रपतिले प्रत्यक्ष भेटेर नयाँ सरकार प्रमुखको नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार सभामुख घिमिरेका अलावा माओवादी नेता वर्षामान पुन पनि राति नै छलफलका लागि शीतल निवास पुगेका थिए । पुनमार्फत नै राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार राति नै शीतल निवासमा थप छलफलका लागि कांग्रेस नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका हुन् ।
जेनजी आन्दोलनको बलमा कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भएको हो। सोमबारको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा ३० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।
शुक्रबार फेरि छलफल गरेर अन्तिम टुंगो लगाइने स्रोतको भनाइ छ।
















