Headlines

साम्बाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपालको ८-० को ऎतिहासिक जित

श्रीलंकामाथि गोलकोवर्षा:साम्बाको ह्याट्रिकमा नेपालको ऐतिहासिक जित

असार १८, २०८२ । काठमाडौं दैनिक, संवाददाता

काठमाडौँ – उज्वेकिस्तानको राजधानी तास्केन्दमा चलिरहेको एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले ऐतिहासिक प्रदर्शन गर्दै श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ।

कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकले चम्किएको यो जितले नेपालको दोस्रो जित सुनिश्चित गर्दै समूहमा शीर्ष स्थान पक्का गरेको छ।

नेपालले यसअघि पहिलो खेलमा लाओसलाई ९–० ले हराउँदै सुरुवात गरेको थियो। श्रीलंकाविरुद्धको जितसँगै नेपालले अब दुई खेलमा ६ अंक जोडेको छ जुन नेपालको उत्कृष्ट सुरुवात हो।

खेलको सुरुवातमै आक्रामक शैली अपनाएको नेपालीले खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नर पासमा गीता रानाले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि २०औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारिन्।

३६औँ मिनेटमा साम्बाले फ्रिकिकबाट सीधा गोल गरे पनि रेफ्रीले गोल मान्यता दिएनन्। तर त्यसको केही समयमै, ४२औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता ३–० मा पुर्‍याइन्। पहिलो हाफको अतिरिक्त समयमा उनले अर्को गोल थपेर ह्याट्रिक पूरा गरिन्।

एकै खेलमा ह्याट्रिक गर्ने सामर्थ्य देखाउँदै साम्बाले आफुलाई पुन एकपटक नेपाली फुटबलको गोल मेसिनको रूपमा सावित गरेकी छिन् ।

खेलको ५३औँ मिनेटमा रश्मी घिसिङमाथि श्रीलंकाकी सचिना डि सिल्भाले फउल गरेपछि नेपाललाई पेनाल्टीको अवसर प्राप्त भयो। गीताले पेनाल्टीलाई सहज रूपमा गोलमा परिणत गर्दै नेपालको अग्रता ५–० बनाइन्।

त्यसपछि ६२औँ मिनेटमा निशा थोकरले हेडमार्फत नेपालका लागि छैटौँ गोल गरिन्। सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा रेखा पौडेलले ७८औँ मिनेटमा गोल गर्दै स्कोर ७–० बनाए।

८९औँ मिनेटमा पूजाले नै व्यक्तिगत गोल थप्दै श्रीलंकामाथिको फराकिलो ८–० को विजय पक्का गरिन्।

सावित्रा भण्डारी नेपाली महिला फुटबलको एक परिचित नाम हो। उनले यस खेलमा जुन स्तरको आत्मविश्वास र अगुवाइ देखाइन् त्यसले नेपाली टोलीको भविष्य उज्ज्वल छ भन्ने संकेत दिएको छ । साम्बाको ह्याट्रिकले मात्र नभई उनको उपस्थितिले श्रीलंकाको डिफेन्स लाइनलाई निरन्तर दबाबमा राख्यो ।

यस जितमा नेपाली टोलीको समग्र रणनीति, खेलाडीबीचको समन्वय, पासिङ गति र फिनिशिङ कौशलता सबै पक्षमा सुधार देखियो। टिमले एक अर्काको गति बुझ्न थालेको स्पष्ट देखियो। प्रशिक्षक कुँवरको योजना सफल सावित भएको छ जसले प्रतियोगितामा नेपालको दाबी थप बलियो बनाएको छ।

श्रीलंकाका लागि यो लगातार दोस्रो हार हो। पहिलो खेलमा उनीहरू घरेलु टोली उज्वेकिस्तानसँग १०–० ले पराजित भएका थिए। नेपालविरुद्धको खेलमा पनि उनीहरूले कुनै असर पार्न सकेनन्। उनीहरूको रक्षापंक्ति कमजोर रहनुका साथै मिडफिल्डमा तालमेलको कमी देखिन्थ्यो ।

अब नेपालले समूह चरणको अन्तिम खेल शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ। उज्वेकिस्तान पनि दुवै खेल जितेर शीर्षमा छ। यो खेल समूह विजेताको टुंगो लगाउने महत्त्वपूर्ण भिडन्त हुने पक्का छ।

उज्वेकिस्तान बलियो टोली मानिए तापनि नेपालले अहिलेसम्म देखाएको प्रदर्शनले समर्थकहरूमा आशा जगाएको छ। यदि नेपाल यस खेलमा बराबरी वा जित निकाल्न सफल भयो भने एसियन कपको यात्रामा नेपालीको लागी ढोका खुल्नेछ।

महिला फुटबलमा पछिल्लो समय नेपालले जुन निरन्तरता देखाइरहेको छ त्यसले देशमा महिला खेलाडीप्रति बढ्दो चासो र समर्थन झल्काउँछ। आज खेलाडीहरुले मैदानमा जे देखाए त्यो नेपाली खेलप्रेमीका लागि गर्वको क्षण हो।

अबको लक्ष्य उज्वेकिस्तानलाई हराउने हो। नेपाली महिला टोलीले यथावत फर्म कायम राख्न सक्यो भने एएफसी महिला एसियन कपको मुख्य चरणसम्म पुग्न सम्भव छ। त्यस्तो अवस्थामा नेपाली टोली नेपाली खेल इतिहासको स्वर्ण अक्षरमा दर्ज हुनेछ।

नेपालको यो जित केवल एक खेलको परिणाम होइन, यो नेपाली महिला फुटबलको प्रगतिको संकेत हो।
सावित्रा भण्डारीको ह्याट्रिक, गीता रानाको उत्कृष्ट प्रदर्शन, र टिमको समग्र समर्पणले नेपाली फुटबललाई नयाँ दिशा दिएको छ। उज्वेकिस्तानसँगको अन्तिम खेल अब ‘फाइनल जस्तै’ हुनेछ र हामी सारा नेपालीहरुको नजर त्यहीँ केन्द्रीत हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *