साउदी अरेबियामा एकै सातामा १२,००० आप्रवासी पक्राउ गरेको छ ।
साउदी अरब – असार १०, २०८२
साउदी अरेबियामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूका लागि पछिल्लो साताहरू निकै कठिन बनेका छन्। साउदी सरकारद्वारा अवैध बसोबास, काम र सीमा उल्लंघन विरुद्ध व्यापक अभियान चलाइ रहँदा एक सातामा मात्र १२,०६६ जना आप्रवासीहरू पक्राउ परेका छन्।
कसरी र किन भयो यति ठूलो संख्यामा पक्राउ ?
साउदी गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सुरक्षाकर्मीहरू र विभिन्न सरकारी निकायहरू बीचको सहकार्यमा देशका विभिन्न क्षेत्रहरूमा छापा तथा अनुगमन अभियान सञ्चालन गरिएको थियो। यो अभियानको उद्देश्य देशको आप्रवासी कानुनको उल्लंघन गर्नेहरूमाथि कारबाही गर्नु रहेको थियो।
पक्राउ परेकामध्ये ७,३३३ जनाले साउदी अरबको आवास सम्बन्धी कानुन (Residency Law) उल्लंघन गरेका थिए भने ३,०६० जनाले सीमा सुरक्षा कानुन (Border Security Law) र १,६७३ जनाले श्रम सम्बन्धी कानुन (Labor Law) उल्लंघन गरेका थिए।
७,२३८ जनाको देशनिकाला र अरु प्रक्रिया अघि बढ्दै:
पक्राउ परेका मध्ये ७,२३८ जनालाई सिधै देशनिकाला (deportation) गरियो। बाँकी ६,२४४ जना कूटनीतिक कार्यालयमार्फत यात्रा कागजातको प्रक्रियामा छन् भने २,२०९ जना आफ्नो टिकट र आरक्षण मिलाउने चरणमा छन्।
यस प्रक्रियालाई द्रुत, व्यवस्थित र कानुनी प्रक्रिया अनुरूप अघि बढाइएको साउदी गृह मन्त्रालयले जनाएको छ।
कुन देशका नागरिक बढी ?
साउदी सीमाबाट अवैध रूपमा छिर्ने प्रयास गर्नेहरूको संख्याले पनि सरकारलाई चिन्तित बनाएको छ। रिपोर्ट अनुसार, एकै सातामा साउदी सीमा पार गर्न खोज्ने १,२०६ जना पक्राउ परेका थिए।
३२% यमनी नागरिक, ६५% इथियोपियन नागरिक, ३% अन्य देशका नागरिक थिए।
यी अवैध प्रवेश गर्ने हरूले विभिन्न माध्यम र दलालमार्फत साउदी प्रवेश गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रवेश मात्रै गर्ने होइन आश्रय दिने २१ जना साउदी नागरिक पनि पक्राउ परेका छन् । अवैध आप्रवासीहरूलाई आश्रय, यातायात वा रोजगारी प्रदान गर्नेहरुलाई पनि साउदी सरकारले निगरानी कडा बनाएको छ। यसै सन्दर्भमा २१ जना त्यस्ता व्यक्ति पनि पक्राउ परेका छन् जसले अवैध बसोबास गर्न बस्न, काम गर्न, वा यात्रा गर्न सहयोग गरिरहेका थिए।
अहिले १२,०१५ पुरुष र १,२३३ महिलासहित १३,२३८ जना अवैध आप्रवासीहरू कानुनी प्रक्रिया अन्तर्गत अनुसन्धान तथा मुद्दा प्रक्रियामा छन्। तिनीहरूलाई भविष्यमा देशनिकाला वा कारबाही गरिने बताएको छ।
साउदी गृह मन्त्रालयले स्पष्ट रूपमा चेतावनी दिएको छ कि कुनै पनि व्यक्तिले यदि अवैध आप्रवासीलाई सहयोग गर्यो भने उसलाई कडा कारबाही गरिनेछ।
सरकारले आम नागरिकलाई यस्तो गैरकानुनी कार्यमा संलग्न देखेमा तुरुन्तै जानकारी दिन समेत अनुरोध गरेको छ।
मक्का, रियाद र इस्टर्न प्रान्तमा ९११ नम्बरमा फोन गर्न,
अन्य प्रान्तहरूमा ९९९ वा ९९६ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
साउदी सरकारले लामो समयदेखि अवैध आप्रवासनलाई नियन्त्रण गर्न “नेशनल क्याम्पेन टु क्र्याकडाउन अन व्हिजा भायलेटर” नामक अभियान सञ्चालन गरिरहेको छ।
यस अभियानअन्तर्गत विशेष गरी बिना अनुमति बसेका, काम गरेका वा अवैध रूपमा प्रवेश गर्ने व्यक्तिहरूलाई पहिचान गरी कडाइका साथ कार्वाही गरि देशनिकाला गरिँदैछ।
साउदी सरकारका अनुसार अवैध आप्रवासीहरूको कारण देशको सुरक्षा, आर्थिक सन्तुलन र रोजगार बजारमा असर पर्ने भएकाले यस्तो कडाइ आवश्यक रहेको बताएको छ ।
नेपाली आप्रवासीहरूलाई विशेष सावधानीको सुझाव:
साउदी अरेबियामा लाखौं नेपालीहरू वैदेशिक रोजगारीमा छन्। तर केही नेपालीहरू पनि विभिन्न कारणबस बाध्यताले अवैध रूपमा बस्ने श्रम कानुन उल्लंघन गर्ने वा भिसा अवधि थप नगरी बसिरहेको समस्या देखिन्छ। साउदी अरबको पछिल्लो कडा नीति र कारबाही अभियानको पृष्ठभूमिमा नेपाली दूतावास र नेपाली समुदायले पनि विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ।
नेपाली दूतावास, रियाद वा जेद्दा मार्फत आपतकालीन सम्पर्क गर्नु, कागजात अद्यावधिक राख्नु, र कानुनी प्रक्रिया पालन गर्नु अत्यावश्यक भएको छ।
साउदी अरेबियामा रहनु भएका सम्पूर्ण नेपाली प्रवासीहरूलाई समयमै भिसा नवीकरण गर्नु, श्रम कानुनको पालना गर्नु र कुनै पनि अवैध गतिविधिबाट टाढा रहनु नै बुद्धिमानी हुनेछ ।
काठमाडौं दैनिक:
श्रोत: साउदी ग्याजेट र गृह मन्त्रालय रिपोर्ट
kathmandudainik.newsdesk@gmail.com