काठमाडौं – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई ५ वर्ष कैद सजाय भोगिसकेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई अझै ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने फैसला गरेको छ।
संवैधानिक इजलासले दिएको फैसलाअनुसार २०८१ कात्तिक २० गतेदेखि नै मनाङे कानुनतः प्रदेशसभा सदस्यका रूपमा अयोग्य देखिएको ठहर भएको हो। यसअघि गत असार ४ गते नै सर्वोच्च अदालतले उनलाई गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने आदेश दिएको थियो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. कुमार चुडाल सम्मिलित इजलासले सजाय पूरा गरेपछि पनि थप ६ वर्षसम्म चुनाव लड्न नपाउने निर्णय सुनाएको हो।
मनाङेले २०७९ मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजय हासिल गरेका थिए। तर अधिवक्ता वीरेन्द्रराज कार्कीले उनी अयोग्य व्यक्तिले निर्वाचनमा भाग लिएर पद पाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
२०६१ सालमा चक्रे मिलन (मिलन गुरुङ) माथि ज्यान मार्ने उद्योग मुद्दा लागेका मनाङे २०६९ साउन २८ मा पाँच वर्ष कैद सजाय पाएका थिए। सर्वोच्च अदालतले २०७५ वैशाख २३ गते पुनरावेदन दर्ता भए पनि अन्ततः २०८१ कात्तिक २० मा कैद सजाय सदर गरेको हो।
फैसला अनुसार, गुरुङले अझै २ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ। त्यसपछि पनि उनी थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।
काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।
गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।
बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।
समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।