सर्लाही – सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात समूहद्वारा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। गोली लागेर गम्भीर घाइते भएका शिक्षक रामपुकार यादवको उपचारका क्रममा बाटोमै निधन भएको हो। घटनापछि एक जना पक्राउ परेका छन् भने अन्य संलग्न व्यक्तिहरू फरार छन्।
प्रहरीका अनुसार राति करिब साँढे ८ बजेतिर यादवमाथि गोली प्रहार गरिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई तत्कालै महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको डाक्टरहरूले पुष्टि गरेका छन्।
घटनास्थलबाट मोटरसाइकलमा भाग्दै गरेका व्यक्तिहरू दुर्घटनामा परेका थिए, जसमा एक जना पक्राउ परेका छन्। सो व्यक्ति अहिले प्रहरी नियन्त्रणमा छन् भने अरू अभियुक्तहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शिक्षक यादवको मृत्युले स्थानीय क्षेत्र शोकमा डुबेको छ। उनका सहकर्मी, विद्यार्थी र स्थानीयबासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।
गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।
बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।
समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।