सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह

barama andolan

मंसिर ५, २०८२।   काठमाडौं दैनिक संवाददाता

barama andolan

काठमाडौ – बाराको सिमरामा उत्पन्न तनावपछि नागरिक समूहले सरकार, जेनजी युवा समूह र राजनीतिक दलहरूलाई संयमित रहन आग्रह गरेको छ। सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू, संरचनामा पुगेको क्षति र दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक राजनीतिक संकटतर्फ धकेल्ने चेतावनी दिएको छ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीकै संवेदनशील चरणमा यस्तो अराजनीतिक क्रियाकलापले लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल असर पारेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, कुनै पनि दल, समूह वा आन्दोलनले संवैधानिक हकमा हस्तक्षेप गर्ने, हिंसात्मक गतिविधि प्रदर्शन गर्ने, वा प्रतिस्पर्धी दललाई लक्षित गरी निषेधात्मक काम गर्ने छुट छैन।

समूहले जेनजी आन्दोलनका युवालाई संविधानको भावना, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिमा रहन आग्रह गरेको छ। त्यस्तै, राजनीतिक दलहरूले पनि चुनावी गतिविधिको नाममा उक्साहट वा भिडन्त हुनसक्ने कामबाट टाढा बस्नुपर्ने चेतावनी दिएको छ।

समूहको ठहरमा फागुन २१ मा तोकिएको निर्वाचन शान्तिपूर्ण ढंगले हुन नसके देश राजनीतिक शून्यतातर्फ धकेलिन सक्छ, जसको असर सबै पक्षले भोग्नुपर्नेछ। देशको शान्तिसुरक्षा, स्थिरता र निष्पक्ष चुनावी वातावरण कायम गर्न संवाद, संयम र संवैधानिक मार्गप्रतिको प्रतिबद्धता अत्यावश्यक छ, विज्ञप्तिमा उल्लेख छ।

नागरिक समूहले सरकारलाई पनि सुरक्षा अवस्थाको संवेदनशीलता बुझेर आगामी चुनाव शान्तिपूर्ण र निष्पक्ष रुपमा गराउने ऐतिहासिक जिम्मेवारीमा गम्भीर हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।